
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
आज हैदरावाद हाउसमा देउवासँग ‘वान अन वान’ र दुवै देशको प्रतिनिधिमण्डल सहितको बैठकपछि संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीले देउवाको भ्रमण दुवै देशको भविष्यका लागि महत्वकांक्षी लक्ष्य प्राप्त हुने बताएका हुन्।
देउवा भारतका पुराना मित्र भएको तथा नेपाल र भारतको सम्बन्ध विस्तारमा उनको भूमिका उल्लेख्य रहेको मोदीको भनाइ थियो। यस्तै, मोदीले नेपाली र भारतीयको सम्बन्ध सबैका लागि उदाहरणीय रहेको पनि दोहर्याए।
‘देउवा भारतका पुराना मित्र हुन्। दुई देशको सम्बन्ध निकै प्रगाढ छ। हाम्रो सम्बन्ध सबैका लागि उदाहरण हो। अरु विश्वमा कतै यस्तो सम्बन्ध छैन। सभ्यता, संस्कृति प्राचीनकालदेखि सुख दु:खको साथी हौं,’ मोदीले भने।
आजको भेटमा देउवा र आफूबिच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उनले बताए। सहयोग र योजनाहरुको प्रगतिसँगै भविष्यको रुपरेखाका बारेमा पनि कुरा भएको उनले बताए।
मोदीले नेपाल र भारतबिच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिए। मोदीले नेपालको जलविद्युत क्षेत्रमा भारतीयहरुको धेरै भन्दा धेरै सहभागी हुनेबारेमा सहमति गरेको बताए। नेपालबाट थप विद्युत आयात गर्न प्रस्तावहरु स्वीकृत भइसकेको उनले जानकारी दिए। मोदीले ‘रुपे कार्ड’ को नेपालमा प्रयोगबाट नेपालमा आर्थिक कनेक्टिभिटिको नयाँ अध्याय थपिने उल्लेख गरे।
‘ऊर्जामा सहयोग र साझेदारी हुनुपर्छ। पञ्चेश्वर प्रोजेक्ट अघि बढाउने बारेमा हामीले छलफल गर्यौं। यस क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना हो। नेपाल सरप्लस पावर भारतलाई निर्यात गरिरहेको छ। यसले नेपालको आर्थिक विकासमा फाइदा हुन्छ,’ मोदीले भने।
उनले व्यापार विस्तारका लागि क्रस बोर्डर कनेक्टिभिटीमा सहमति भएको र दुवै देशको सुरक्षाका लागि खुला सीमा क्षेत्रको दुरुपयोग हुन नदिने बारेमा पनि चर्चा भएको बताए।
तीन दिने भारत भ्रमणका क्रममा शुक्रवार नयाँ दिल्ली पुगेका देउवा भोलि बराणसी जाँदैछन्। मोदीले काशीको नयाँ रुप देखेर देउवा प्रभावित हुनेमा विश्वास समेत व्यक्त गरे।
प्रधानमन्त्री देउवाले भने आतिथ्यको लागि धन्यवाद दिँदै नेपालको उर्जा क्षेत्रमा भारतले लगानी बढाउनु स्वागतयोग्य कदम भएको बताएका थिए। उनले नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।