
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश १२ र १८ रन बनाउँदा रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेल्दै ५१ रनमा पेभेलियन फर्किए। नेपाललाई विशाल लक्ष्य तर्फ डोहोर्याउन दीपेन्द्रसिंह ऐरीले आक्रामक शतकीय पारि खेले। उनले ५७ बलमा ६ छक्का र १० चौकाको सहायतामा ११० रनमा अविजित रहे। नेपाली टोलीका लागि टी २० क्रिकेटमा चौथो शतक हो। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतकीय पारि खेलेका छन्। टी २० को एउटा पारिमा भने सर्वाधिक रन ऐरीले बनाएका हुन्।
बलिङतर्फ मलेसियाका मोहम्मद वफिक, पवनदीप सिंह, स्याजरुल इद्रुस र मोहम्मद आमिरले समान १ विकेट लिए।
मलेसिया जवाफी ब्याटिङमा उत्रिएको छ।