
काठमाडौं : इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ। गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो।
यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४:१५ बजेबाट बेलुका ६:२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने गर्छन्। सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना निकै महत्वपूर्ण एवं पवित्र रहेको र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने बताए।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खाआदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन। वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ।