काठमाडौं : राम्रो अभिनय के हो? नेपाली सिने क्षेत्रमा अभिनयको अवस्था कस्तो छ। अभिनेता र अभिनेत्रीको अभिनय कस्तो छ ?
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करणको तेस्रो दिन यिनै प्रश्नमाथि मन्थन भएको छ। कलाकारहरुले नै नेपाली सिने क्षेत्रको अभिनयकलामाथि अन्तर्क्रिया गरेका हुन्।
त्यसक्रममा रंगकर्मी/ निर्देशक सुनील पोखरेलले आफूले अहिलेसम्म ठ्याकै राम्रो अभिनयको परिभाषा बुझ्न नसकेको बताए।
‘पहिले अभिनय भनेको खत्रा हुन्छ जस्तो लाग्थ्यो। तर अहिले आएर जीवन बाँच्नु र अभिनयमा म फरक देख्दिँन। यदि कसैको अभिनयले दर्शकको मन र दिमागमा झ्वाटै आक्रमण गर्छ भने सायद त्यो राम्रो अभिनय होकी ?’ उनले प्रश्न गरे।
कलाकारको पहिलो शर्त इमान्दार हुनुपर्ने सुनील बताउँछन्। आफैसँग इमान्दार हुन सकेको खण्डमा मात्रै राम्रो कलाकार बन्न सकिने उनको तर्क छ। भुँई छोड्दा कलाकार हराउने भएका कारण आफ्नो पृष्ठभूमि नभुल्न समेत उनले सुझाव दिए।
चरित्रमा 'फिट' हुन पहिले स्क्रिप्टको पृष्ठभूमि बुझ्नुपर्ने सुनीलको बुझाई छ। भने,‘सुरुमा कलाकारले आफूले निभाउने पात्रको ब्याकग्राउन्ड बुझ्नुपर्छ। त्यसपछि भने संवाद पढ्नुपर्छ। ती संवादलाई जीवनको भोगाई र अनुभवसम्म जोड्नुसक्नुपर्छ। जीवनसँग नजिक हुँदा अभिनयमा बढी ध्यान दिइन्छ। यदि जीवनसँग रिलेट भएन भने कल्पना गर्नुपर्छ।’
थिएटर र फिल्ममा अभिनय गर्नु केही फरक हुने उनको मत छ। उनका अनुसार थिएटर र फिल्म फरक माध्यम हुन्। फिल्म क्यामेराको लागि हो भने थिएटर आँखाको लागि। ‘थिएटरमा प्रत्यक्ष अभिनय देखाउनु पर्ने हुँदा केही चर्को सुनिन्छ। जसकारण यी कुरालाई छुट्टै हो भनेर बुझ्दा सहज हुन्छ। पहिले थिएटर र फिल्मका कलाकारबिच विभेद हुन्थ्यो। तर अहिले केही सहज भएको छ।’
कलाकार सरिता गिरीले अभिनय शैली समयअनुसार परिवर्तन हुँदै जाने बताइन्। ‘अभिनयका धेरै शैलीहरू छन्। जुन समयअनुसार परिवर्तन हुँदै जान्छन्। तर अहिले आएर आफूले निभाएको पात्रमा निभाएको शैली मेरो हो जस्तो लाग्छ। मैले भोगेको अनुभव र मुड हो जस्तो लाग्छ। पछाडि फर्केर हेर्दा कुनै पनि चरित्रमा मेरो शैली नै अभिनय हो जस्तो लाग्छ।’
फिल्ममा कलाकारको अभिनय राम्रो नहुनुमा निर्देशकको कमजोरी हुने गरेको उनको आरोप छ। ‘थिएटरमा रिहर्सलको लागि पर्याप्त समय हुन्छ। साना पात्र पनि महत्त्वपुर्ण हुन्छन्। जसले कमजोर पात्रलाई उठाउन निकै मेहेनत गरिन्छ’, उनले भनिन्, ‘तर फिल्ममा निकै हतारो गरिन्छ। सानो पात्रलाई तत्कालै लिने चलन छ। खालि मुख्य पात्रलाई मात्रै ध्यान दिइन्छ। जसकारण फिल्ममा पात्रहरू कमजोर हुन्छन्। किनकी पात्रलाई विश्लेषण गर्ने समय नै हुँदैन्।’
अभिनयको अफर आउँदा सुरूमा फिल्मको स्क्रिप्ट राम्रोसँग पढ्ने र पृष्ठभूमि बुझ्ने गरेको बताउँछिन् सरिता। भन्छिन्,‘म सुरूमा पात्रको पृष्ठभूमि बुझ्छु। पात्रको भोगाई र मनोविज्ञान बुझेर मात्र फिल्म खेल्छु। फिल्म ‘आमा’ मा सुत्केरी महिलाको पात्र निभाउनु पर्ने। आफू अविवाहित महिला। अप्रेसन गरेको सुत्केरीको हिँडाई सिक्न म धेरैपटक अस्पताल गएकी थिएँ। जसले मलाई पात्रमा फिट हुन सजिलो भएको थियो।’
त्यस्तै, अभिनेता विपिन कार्कीले छोटो भूमिका गरेर अभिनय क्षेत्रमा आएको बताए। कार्की पनि आफू अभिनयको परिभाषा खोजिरहेको बताउँछन्।
विपिन भन्छन्,‘म पनि खोजिरहेको छु। अभिनय गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ। मलाई चाँहि राम्रो अभिनयको एउटै परिभाषा हुँदैन जस्तो लाग्छ। हरेक मान्छेको बेग्लै चरित्र हुन्छ। जसकारण अभिनय भन्ने राम्रो नराम्रो हुँदैन्।’
सबै जनाको फरक फरक विधा हुने भएकाले इच्छा भएकाहरु अभिनयमा लाग्न उनले युवापुस्तालाई आग्रह गरे। ‘हामी सबै जना युनिक र फरक हुन्छौं। त्यसैले नडराई आफ्नो अभिव्यक्ति बाहिर निकाल्नुपर्छ। जसले अभिनय जीवन्त देखिन्छ। अभिनय गर्दा जीवनसँग जोडेर इमान्दार भएर आफ्नो जस्तो सोच्नुपर्छ। आफ्नै अभिव्यक्ति र युनिकेस चाहिन्छ तब मात्र राम्रो हुन्छ,’ कार्कीले सुनाए।
एकजनाले मात्रै राम्रो अभिनय गर्दैमा नहुने र फिल्म राम्रो हुन सम्पुर्ण टिमवर्कनै नै बलियो हुनुपर्ने कार्कीको धारणा छ।