
काठमाडौं : पाहाँ च:ह्रेको अन्तिम दिन असनमा तीन अजिमाहरुको भेट गराइएको छ। नेपालभाषामा 'द्य ल्वाकिगु' भनिने जात्रामा अजिमा दिदी बहिनी लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्याएर भेट गराइएको हो।
रातो, नीलो र पहेँलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएका थिए। त्यसक्रममा तीनै खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिएको थियो। यस्तै तीनै खटबाट चिलाख साटासाट गरिएको थियो।
जात्राका क्रममा असनका घरघरबाट चटामरी फाल्ने चलन पनि छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।
हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौं उपत्यकावासीहरु पाहाँ च:ह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो।
पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। टोलटोलमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।
त्यसैगरी कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ। पाहाँ च:ह्रेको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ। ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ। राति भने टुंडिखेलमा अजिमाहरुको खट जुधाउने गरिन्छ।
जात्राको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा हुन्छ।