PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

संकटकालको घोषणापछि देशव्यापी कर्फ्यू पनि ! सकसपूर्ण बन्दै श्रीलंकाको जनजीवन



पहिलोपोस्ट

संकटकालको घोषणापछि देशव्यापी कर्फ्यू पनि ! सकसपूर्ण बन्दै श्रीलंकाको जनजीवन
GETTY IMAGES

संकटकालको घोषणा लगत्तै श्रीलंकाले देशव्यापी कर्फ्यू समेत जारी गरेको छ। स्थानीय समयअनुसार आज साँझ ६ बजेबाट सुरु हुने कर्फ्यू सोमवार बिहान ६ बजेसम्मका लागि लागू हुने सरकार सूचना जारी गर्ने विभागले जनाएको छ।

गत बिहीवार भएको हिंसात्मक झडपले श्रीलंकाको अवस्था थप कष्टकर बनाएको छ। यसै घटनालाई आधार बनाएर सरकारले संकटकालको घोषणा गरेको थियो। 

संकटकाल लगाएपछि भोलिदेखि देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी भएको जानकारी पाएलगत्तै श्रीलंका सरकारले कर्फ्यूको आदेश दिएको हो। चर्को आर्थिक संकटबाट गुज्रिरहेको मुलुकमा थप राजनीतिक तनावको अवस्था आएपछि यस्तो निर्णय भएको हो। 

बिहीवार राष्ट्रपति निवास बाहिर भएको हिंसात्मक घटनापछि श्रीलंकाले देशव्यापी संकटकालको घोषणा गरेको हो। 

राष्ट्रपतिको निजी निवास अगाडि भएको हिंसात्मक गतिविधिका कारण बिहीवार राति नै कोलम्बोमा कर्फ्यू  लगाइएको थियो।

प्रदर्शनका क्रममा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए। भिडलाई हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपछि झन्डै ५० जना घाइते भएका छन्। त्यस्तै, ४५ जना पक्राउ परेका छन्।

अहिलेको आर्थिक संकट श्रीलंकाको इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ। आर्थिक संकटका कारण खाना पकाउने ग्यास, औषधि, इन्धन र खाद्यान्न जस्ता आधारभूत वस्तुहरू आयात गर्न सकस छ।सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरूको संकटको समाधान गर्न नसक्ने राजपाक्षे र सम्पूर्ण मन्त्रिपरिषद्को राजीनामा माग्दै नारा लगाएका थिए। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘पागल घर जाउ’ भन्दै नारा लगाएको देखिएको थियो।

आज चाहिँ संकटकालको घोषणासँगै सेना परिचालन गरिएको छ। साथै, सेनालाई विना कुनै गिरफ्तारी पत्र जो कसैलाई पनि पक्राउ गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। वैदेशिक मुद्राको चरम अभाव बेहोरिरहेको मुलुकसँग अहिले इन्धन आपूर्तिका लागि स्रोत समेत छैन। त्यसमाथि दैनिक १४ घन्टाभन्दा धेरै लोडसेडिङ सुरु भएको छ। यसमा मानिसहरुलाई आन्दोलित बन्न प्रेरित गरेको छ। खाद्यान्नको मूल्य नराम्ररी आकाशिएको छ भने तेलको चरम अभावले मानिसको दैनिक जीवन पूरै प्रभावित बनेको छ।

अवस्था खराब हुँदै गएपछि राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेका हुन् जसलाई धेरैले अप्रत्यासित रुपमा लिएका छन्। त्यसैले विरोध हुनसक्ने देखिएको थियो। यस अघि सन् २०१९ मा भएको हिंसात्मक विस्फोटपछि संकटकाल लगाइएको थियो। संकटकालसँगै कतिपय मौलिक हक निलम्बनमा परेको छ। स्वतन्त्र हिँड्न पाउनेदेखि अभिव्यक्तिको स्वतन्त्रता समेत खोसिएको छ। यसको लागूसँगै प्रहरी र सेनालाई थप बलियो बनाएको छ - उनीहरुले कुनै पक्राउपूर्जीविना नै समात्न र थुन्न पाउँछन्। 

संकट गहिरिँदै गएको श्रीलंकमा यस कदमले थप संकट निम्त्याउने निश्चित छ। सरकारको विरुद्ध आन्दोलन बढ्ने संकेतहरु देखिएका छन्।
नागरिक आन्दोलनकारी र पत्रकारहरु पक्राउ पर्ने र यातनाको भागिदार हुनेक्रम सुरु भइसकेको रिपोर्टहरु बाहिर आएका छन्। राजपाक्षेको घर बाहिर पत्रकारहरुमाथि दुर्व्यवहार भएको थियो। प्रश्न गरेकै निहुँमा उनीहरुमाथि आक्रमण भएको हो। 

संकटकाल घोषणालाई अदालतमा चुनौती दिने व्यवस्था छैन। तर, संसदबाट यो दुई सातामा अनुमोदन हुनुपर्ने व्यवस्था छ। सरकारसँग बहुमत भएकाले यसलाई पास गर्न कठिन छैन। त्यसपछि भने हरेक महिनामा यसलाई लम्ब्याइरहन सकिन्छ।

श्रीलंकाको राजधानीमा लगातार दोस्रो दिन पनि कर्फ्यू जारी छ। राजपाक्षेले संकटकालको घोषणा नागरिकको सुरक्षा, शान्ति कायम र सार्वजनिक सेवा प्रवाह सहज गराउनका लागि भएको जिकिर गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell