PahiloPost

May 23, 2025 | १० जेठ २०८२

२४ घण्टापछि उठाइयो दुई मजदुरको शव, परिवारलाई जनही १५ लाख क्षतिपूर्ति दिने सहमति



रासस

२४ घण्टापछि उठाइयो दुई मजदुरको शव, परिवारलाई जनही १५ लाख क्षतिपूर्ति दिने सहमति

भक्तपुरः चाँगुनारायण नगरपालिका ९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव २४ घण्टापछि उठाइएको छ।

जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको लापरबाहीका कारण भएको घटनामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ३ घर भई भक्तपुर जगाती बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घर भई बनेपा बस्ने ३२ वर्षीय चतुरमान तामाङको शुक्रबार मृत्यु भएको थियो। पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै हिजोदेखि स्थानीय र पीडितका आफन्तले शव उठाउन नदिएपछि शनिबार दिनभर घटनास्थलमै शव रहेको थियो।

शनिबार दिउँसो वडा नं ९ कार्यालयमा वडाध्यक्ष गणेश त्यातको नेतृत्वमा भएको दुई पक्षबीचको छलफल सहमतिमा पुगेपछि शव उठाएर परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको केसीले बताए।

छलफल र सहमतिबारे जानकारी दिँदै वडाध्यक्ष त्यातले दुई मृतक मजदुरका परिवारलाई जनही १५ लाखका दरले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको जानकारी दिएर।

उनका अनुसार मृतककी पत्नी र बच्चाका लागि एक परिवारलाई १५ लाखका दरले क्षतिपूर्ति दिने र शव उठाउने सहमति भएको हो।

प्रहरीले दुई मजदुरको मृत्यु हुँदा क्षतिपूर्तिबारे बेवास्ता गर्दै हिजै साँझ शव उठाउन खोजेपछि स्थानीय र पीडितका आफन्तले नाराबाजी गरेर अवरोध गर्दा प्रहरीले २४ घण्टासम्म मृतकको शव उठाउन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell