PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

मधेशवादको मुद्दा बोकेर महन्थ ठाकुरको वीरगंजमा 'रोड शो'



राधेश्याम पटेल

मधेशवादको मुद्दा बोकेर महन्थ ठाकुरको वीरगंजमा 'रोड शो'

वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशवादको मुद्दा बोकेर वीरगंजमा रोड शो गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, अनिल झालगायतको सहभागितामा वीरगंजमा रोड शो गरिएको हो। शनिबार दिउँसो १ बजे वीरगंज चिनी कारखानाको आवास क्षेत्रबाट सुरु भएको कार्यक्रम वीरगंज नगर परिक्रमा गर्दै २ बजे आदर्शनगरस्थित टाउन हलमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो।

स्वभिमान यात्रामा नेताहरुले आगामी चुनावमा लोसपालाई मत दिन अनुरोध गरेका थिए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले स्थानीय तहको चुनावमा आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्ने बताए।

‘अरुअरु पार्टी गठबन्धन तथा तालमेल बनाएर आगामी चुनावमा भाग लिन गइरहेका छन्। हामीले पनि जिल्ला तहका नेताहरुलाई त्यो अधिकार दिएका छौँ,’ उनले भने, ‘यदि तालमेल भयो भने ठिक छ। नभए एकलै चुनाव लडछौँ।’

उनले आगामी चुनावमा मधेशवादको मुद्दा लिएर अघि बढने पनि बताए।

‘केहीले भन्दैछन् लोसपाका नेताहरु अन्य पार्टीमा गए। लोसपाको मधेशवाद मुद्दा सकियो। तर त्यो सत्य होइन। नेपालमा मधेशवादको मुद्दा बोक्ने एक्लो पार्टी भनेको लोसपा नै हो', उनले भने।

कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र महतोले नश्लीय चिन्तनबाट राज्य सञ्चालन भइरहेकोले मधेशको पहिचान तथा हक अधिकार सुनिश्चित गर्न पनि लोसपाले चुनाव जित्न आवश्यक रहेको बताए।

नेता सर्वेन्द्रनाथ शुक्लाले गाउँगाउँमा गएर लोसपाबारे मतदातालाई स्पष्ट पार्न आवश्यक रहेको बताए। नेता अनिल झाले वीरगंज मधेश आन्दोलनको केन्द्रविन्दु रहेकोले दर्जनौँको बलिदानीपछि बनेको संविधानले पनि मधेशीको हक दिलाउन नसकेको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell