PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा



पहिलोपोस्ट

कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आ-आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुबीच शनिबारको अन्तिम कार्यपालिका बैठककाबीच एकअर्कालाई फूलमाला र अबीर लगाएर बिदा भए।

‘हामी राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौँ तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौँ’, अध्यक्ष राजकुमार मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell