PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एनआरटीलाई जीतपुर सिमरा गोल्डकपको उपाधि



पहिलोपोस्ट

एनआरटीलाई जीतपुर सिमरा गोल्डकपको उपाधि

वीरगंजः जीतपुर सिमरा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले उचालेको छ। सिमरा रंगशालामा शनिबार सम्पन्न खेलमा विभागीय टिम एपीएफलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो।

एनआरटीलाई उपाधि दिलाउने क्रममा मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई/दुई गोल गरे। यस्तै दिपेश घलेले एक गोल गरे।

एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो। पहिलो हाफमा थपिएको दुई मिनेट समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। दिपेश धिमालले विशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका थिए। उनको प्रहारलाई रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल भए।

एक गोलको अग्रतासँगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६०औँ मिनेटमा दोस्रो थोल थप्यो। मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दिपेश घलेले टिमका लागि दोस्रो गोल गरे।

एनआरटीले ७७औँ मिनेटमा तेस्रो गोल गरेको थियो। स्टेफन समिरले गोल गर्दै खेल ३–० को स्थितमा पुर्‍याएका थिए। ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्यो। मेसुकेले टिमका लागि चौथो र प्रतियोगितामा व्यक्तिगत पाँचौँ गोल गरे। खेलको ८९औँ मिनेटमा एनआरटीले पाँचौँ गोल गरेको थियो। स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए।

दोस्रो पटक फाइनलमा पुगेर उपविजेतामा सीमित हुन पुगेको एपीएफले सुरुवातदेखि आक्रामक खेल खेले पनि फिनिसिङमा चुकेको थियो।

विजेता एनआरटीले १० लाख र ट्रफी हात पारेको छ। उपविजेता एपीएफले पाँच लाख हात पारेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए। विधागत पुरस्कारतर्फ पनि एनआरटी नै हावी भयो। उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए। उत्कृष्ट डिफेन्डरको उपाधि एपीएफका राजन गुरुङले प्राप्त गरे। ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाईँ घोषित भए। फेयरप्लेको उपाधि विजय युथ क्लब हटौँडाले प्राप्त गरेको छ।

प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell