हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका नेताकार्यकर्ता विभिन्न पदमा दाबी प्रस्तुत गर्न थालेका छन्। स्थानीय तहमा यसअघि निर्वाचित भएर कमान सम्हालिसका धेरैजसोको चाहना छ अपग्रेड गर्ने।
यस्तै मध्येमा अधिकांश पालिकाका उपप्रमुखहरु छन्। यसअघि उपप्रमुखको जिम्मेवारी निभाएका धेरैजसो महिलाहरु नै छन्। उनीहरुलाई नै प्रमुखको जिम्मेवारी दिने चर्चा त छ नै।
मकवानपुरका पालिका उपप्रमुख महिलाहरु पनि नेतृत्वमा पुग्न हौसिएका छन्। मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका छन्। १० पालिकामध्ये ९ वटामा महिला र एक पालिकामा पुरुष उपप्रमुख छन्। तीमध्ये ९ महिला उपप्रमुख पार्टीले अवसर दिएको खण्डमा जिम्मेवारी लिन पछि नहट्ने बताउँछन्।
कसको चाहना के?
कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ अहिले कार्यवाहक अध्यक्ष छिन्। अध्यक्ष टंक मोक्तानलाई मुद्दा लागेपछि थिङले अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन्। पालिका अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै उनले आगामी निर्वाचनमा पार्टीले पालिकाको अध्यक्ष पदमा महिलालाई अवसर दिनुपर्ने बताइन्।
'विगत ४ वर्षदेखि पालिका उपाध्यक्ष पदमा रहेर काम गरेको अनुभव छ,' एमालेबाट उपाध्यक्षमा निर्वाचित थिङ भन्छिन्, 'पार्टीले मेरो कामको मूल्याङ्कन गरेर अध्यक्ष पदमा उम्मेदवार बनाउनेमा म ढुक्क छु।'
बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान अवसर पाएको खण्डमा आफू अध्यक्ष भएर पालिका हाँक्न सक्ने बताउँछिन्। तर, एमालेबाट अध्यक्षका उम्मेदवारमा एमालेले राजकुमार तिमिल्सिना, खेम जर्गा मगर, नरबहादुर घलान, उत्तम पौडेललेको नाम चर्चामा छ।
मकवानपुरमा एमालेको सशक्त उपस्थिति भएको अर्को गाउँपालिका हो बकैया। फरक पार्टीको अध्यक्ष र उपाध्यक्ष हुँदा पनि ५ वर्षको अवधिमा राम्रो काम भएको थियो बकैयामा। यसपटक सरला बोलखे पार्टीबाट अध्यक्षकै दाबी गर्नेमा छिन्। 'उपाध्यक्षमा किन दोहोरिने?' उनले भनिन्, 'पार्टीले अवसर देओस्। एक कार्यकालका लागि भए पनि अध्यक्षको जिम्मेवारी लिन्छु।'
थाहा नगरपालिका मेयर उपमेयर दुवै पुरुष निर्वाचित भएका छन्। गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका लवशेर विष्ट र उपमयेरमा नेपाली कांग्रेसका खड्ग गोपाली निर्वाचित भएका थिए।
एमालेले सबैभन्दा फराकिलो मत अन्तरमा जितेको तह हो हेटौंडा उपमहानगरपालिका। तर यसपटक एमालेले मेयर कसलाई बनाउने भन्ने टुंगो लागेको छैन। एमालेबाटै ५ जनाको नाम मेयरमा चर्चामा रहे पनि चर्चामा महिला छैनन्। यद्यपि एमालेबाट अघिल्लो निर्वाचनमा उपमेयर जितेकी र हाल नेकपा समाजवादीमा गएकी मिना लामाले आफू मेयरको दाबेदार भएको बताएकी छन्। आफूले हासिल गरेको अनुभवले पनि आफू मेयरका लागि सक्षम रहेको उनको भनाइ छ।
भीमफेदी गाउँपालिका एमालेको पकड भएको स्थानीय तह हो। एमालेले अध्यक्षमा महिला उम्मेदवार बनाउने विषय चर्चामा छैन। तर उपाध्यक्ष पार्वती रानाले आगामी निर्वाचनमा पालिका अध्यक्षमा दाबी गरिरहेकी छन्।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा एमालेबाट निर्वाचित हुन्। पार्टी विभाजनपछि उनले एकीकृत समाजवादी रोजे। उपाध्यक्ष उमाकुमारी लामा एमालेमै छिन्। ५ वटामात्रै वडा रहेको गाउँपालिकामा अध्यक्षमा आफ्नो आकांक्षा रहे पनि पुनः उपाध्यक्षमै दोहोर्याउने उनले बताइन्। आफु अध्यक्ष पदका लागि सक्षम रहेता पनि पार्टीभित्र धेरै आकांक्षी भएकाले आगामी निर्वाचनमा आफूले पुनः उपाध्यक्ष मै उम्मेदवारी दिने बताइन्।
२०७४ को निर्वाचनमा एमालको अर्को जित भएको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट पार्टी विभाजनपछि नेकपा समाजवादीमा छिन्। आउँदो निर्वाचनमा उनी पालिका अध्यक्षमा उम्मेदवार बन्ने भन्दै लबिङ थालेकी छन्।
राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पनि आफ्नो आकांक्षा देखाएकी छन्। उनले पालिका अध्यक्ष राजकुमार मल्लले छाडेमा अध्यक्ष बन्ने पालो आफ्नै भएको बताइन्। तर निर्वाचनमा पनि अध्यक्ष मल्ल नै दोहोरिने सम्भावना भएकोले आफु मल्ल माथिल्लो नेतृत्वमा जाने तयारी भएमा आफु अध्यक्ष पदको दावेदार भएको बताइन्।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा एमालेबाट निर्वाचित हुन्। तर पार्टी विभाजनपछि उनले समाजवादी रोजेको थिए। तर उपाध्यक्ष उमाकुमारी लामा एमालेमै छिन्। ५ वटा मात्रै वडा रहेको गाउँपालिकामा अध्यक्षमा आफ्नो आकांक्षा रहे पनि पुनः उपाध्यक्षमै दोहोरिने उमा बताउँछिन्। आफू अध्यक्ष पदका लागि सक्षम रहेता पनि पार्टीभित्र आकांक्षी धेरै भएकाले आगामी निर्वाचनमा आफूले पुनः उपाध्यक्ष मै उम्मेदवारी दिने बताइन्।
कतिपयले स्थानीय तहका बहालवाला उपप्रमुखलाई आगामी चुनावमा प्रमुखको दावेदारको रुपमा राखेपनि अधिकांश दलले स्थानीय तहमा उपप्रमुख रहिसकेका महिलालाई प्रमुखका रुपमा प्रोत्साहित गरेका छैनन्। त्यसो त उपाध्यक्ष वा उपप्रमुख बनिसकेका महिलाहरुले पनि बलियो दाबेदारी प्रस्तुत भने गर्न सकेका छैनन्।