PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘तीर्थाटन’ मा प्रधानमन्त्री देउवा, भारत भ्रमणको उपलब्धि के?



विधुर ढकाल

‘तीर्थाटन’ मा प्रधानमन्त्री देउवा, भारत भ्रमणको उपलब्धि के?
Photo : PMO

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी भारतको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। औपचारिक भ्रमणका लागि शुक्रवार भारत पुगेका प्रधानमन्त्री देउवा आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र वाणरसी पुगेका छन्। त्यहाँ देउवासहित पत्नी आरजु देउवा र मन्त्रीहरुलेले कालभैरव, रामजानकी मन्दिरसहित अन्य मठमन्दिरमा समेत पूजा गरे।

देउवालाई त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्। 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गरे। यस भेटवार्ताका क्रममा दुवै प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावद हाउसबाट ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलमार्गको उद्घाटन गरे। त्यस्तै दुवै प्रधानमन्त्रीले ९० किलोमिटर लामो १३२ केभी सोलु करिडोर ट्रान्समिसनको उद्घाटन गरे। यो ट्रान्समिसन लाइन भारतको ऋण सयोगमा दुई सय करोड भारतीय रुपैयाँको लागतमा बनेको हो। त्यस्तै दुवै प्रधानमन्त्रीले नेपालमा ‘रुपे’कार्ड संचालनको सुरुवात गरे।

दुवै समकक्षीले हैदरावाद हाउसमा एउटा भिडियो क्लिप हेरे जसमा १३२ स्वास्थ संस्थाको पुन:निर्माणको प्रगती उल्लेख थियो। यो परियोजना भारतको ५० मिलियन अमेरिकी डलर अनुदानमा संचालन भइरहेको छ।

त्यस्तै द्विपक्षीय वार्तापछि दुई देशबीच चार वटा दस्तावेज आदान प्रदान भएका छन्। दुई देशबिच दुई प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धित विभागका अधिकारीहरुबिच इन्टरनेशनल सोलार अलायन्स फ्रेमवर्क अग्रिमेन्ट (नेपालले हस्तान्तरण गरेको), रेलवे क्षेत्रमा प्रावधिक साझेदारी बढाउने सम्बन्धी एमओयु, आइओसी र एनओसीबीच पेट्रोलियम उत्पादन सप्लाइ सम्बन्धी समझदारी पत्र, एनओसी र आइओसीबीच प्राविधिक विज्ञता आदानप्रदान सम्बन्धी समझदारी पत्र आदान प्रदान भएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबिच उर्जा क्षेत्रमा साझेदारी सम्बन्धी संयुक्त ‘भिजन स्टेटमेन्ट’ जारी भएको छ। ६ बुँदे स्टेटमेन्टमा दुई देशबिचको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, व्यापारिक तथा जनसम्बन्धलाई  थप गहिरो बनाउने प्रतिवद्धतालाई दोहोर्‍याइएको उल्लेख छ।

त्यस्तै दुवै प्रधानमन्त्रीले उर्जा क्षेत्रमा भइरहेको सकरात्मक विकासलाई ‘नोट’ गरेको उल्लेख छ। साथै भारतीय प्रधानमन्त्रीले नेपाल ‘पावर सर्प्लस’ देशको रुपमा अगाडि आउन गरेको प्रगति प्रति बधाई दिएको उल्लेख छ। साथै प्रधानमन्त्री देउवाले भारतले हालै ल्याएको क्रस-बोर्डर इलेक्ट्रिसिटी ट्रेड रेगुलेसनले नेपाल जस्तो साझेदारलाई भारतीय बजारमा पहुँच पुर्‍याउन मद्दत गर्ने भन्दै आभार प्रकट गरेका छन्। साथै उनले नेपालको उर्जा क्षेत्रमा प्रत्यक्ष रुपमा पूर्वाधार निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद दिएको वक्तव्यमा उल्लेख छ।

त्यस्तै वक्तव्यमा दुई देशका प्रधानमन्त्रीहरु उर्जा क्षेत्रमा आपसी फाइदा पुग्ने गरी द्विपक्षी साझेदारीको अभूतपूर्व अवसरहरु रहेको कुरामा सहमत भएको उल्लेख छ। नेपालमा संयुक्त पावर जेनरेशन प्रोजेक्टको विकास, सीमाआरपार ट्रान्समिसन पूर्वाधारको विकास, वाइ-डाइरेक्सनल पावर ट्रेड, राष्ट्रिय ग्रिडको संचालन, संचालन सूचना, प्रविधिको संथागत साझेदारीका विषयमा दुई प्रधानमन्त्री सहमत भएको वक्तव्यमा उल्लेख छ।

त्यस्तै बीबीआईएन प्रेमवर्क भित्र यस्तो साझेदारीलाई अगाडि बढाउनसमेत दुवै नेता सहमत भएका छन्। त्यस्तै नेपालको नविकरणीय उर्जा क्षेत्रमा भारतीय लगानीको विषयमासमेत दुई नेता सहमत भएको वक्तव्यमा उल्लेख छ। विशेष गरी जलविद्युत क्षेत्रमा दुवै देशले फाइदाको सम्भावना रहेको भन्दै यसले रोजगार, निर्यात वृद्धिमा कमाई, औद्योगिक तथा वित्तिय क्षमता बढाउने कुरामा दुवै नेता सहमत भएका छन्।

त्यस्तै नेपालले भारतीय कम्पनीहरुलाई नेपालको जलविद्युत लगायतका नविकरणीय उर्जा क्षेत्रमा लगानी गर्न स्वागत गरेको छ। त्यसमा पनि नेपालले जलासय युक्त परियोजनामा जोड दिएको छ।

दुवै नेताहरु पञ्चेश्वर परियोजनाको विषयमासमेत छलफल गरेका छन्। भेटमा दुई प्रधानमन्त्रीले सन् २०१७ मा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको छलफललाई स्मरण गर्दै यसको फाइदाका विषयमा छलफल भएको र सम्बन्धित अधिकारीलाई परियोजनाको डीपीआर तयार गर्न द्विपक्षीय छलफललाई अगाडि बढाउन निर्देशन दिएको वक्तव्यमा उल्लेख छ।

त्यस्तै दुवै प्रधानमन्त्रीले एक अर्काको राष्ट्रिय वृद्धि र समृद्धिका लागि एकअर्कालाई सहयोग गर्न सहमत भएको वक्तव्यमा उल्लेख छ।

हवाई प्रवेश विन्दुको विषयमा छलफल

द्विपक्षीय भेटका क्रममा दुवै प्रधानमन्त्रीबिच द्विपक्षी सम्बन्धलाई थप नजिक बनाउनका लागि रेलमार्ग, राजमार्ग, पाइपलाइन, ट्रान्समिसन लाइन, हवाइ मार्गका विषयमा छलफल भएको छ। छलफलका क्रममा नेपालका प्रधानमन्त्रीले नेपालमा थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने विषयमा भारतीय प्रधानमन्त्रीसँग आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगंज र जनकपुरबाट हवाई प्रवेश विन्दु उपलब्ध गराउन आग्रह गरेको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

नेपालका प्रधानमन्त्रीको विकास तथा आर्थिक साझेदारीका विभिन्न प्रस्तावहरुलाई भारतीय प्रधानमन्त्रीले सकरात्मक लिएको मन्त्रालयले जनाएको छ। यद्यपि, हवाई प्रवेश विन्दुको विषयमा ठोस छलफल नभएको स्रोतले बतायो। भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने हवाई प्रवेश विन्दुको विषय उल्लेख गरिएको छैन।

त्यस्तै प्रधानमन्त्री देउवाले भारतीय पक्षसँग दुई देशबिच जी-टु-जी प्रक्रियाबाट युरिया र डीएपी खरिद सम्झौता भएकोमा पहिलो कन्साइनमेन्ट स्वरुप एक लाख ५० हजार मेट्रिक टन आगामी मनसुन अगावै उपलब्ध गराउन अनुरोध गरेका छन्।

मुर्रा ‘राँगो’ उपलब्ध गराएकोमा धन्यवाद

प्रधानमन्त्री देउवाले विविध क्षेत्रमा भारतले पुर्‍याएको सहयोग प्रति धन्यवाद दिएका छन्। भारतले नेपालमा कोभिड-१९ विरुद्ध खोप, औषधि, लिक्विड अक्सिजन र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा उनले धन्यवाद दिए।

त्यस्तै प्रधानमन्त्रीले भूकम्प पछिको पुन: निर्माणमा सहयोग पुर्‍याएकोमा आभार प्रकटसमेत गरे। त्यस्तै प्रधानमन्त्रीले व्यापार, पारवहानसहित सांस्कृतिक र पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै धन्यवाद थिए।

कृषि क्षेत्रमा साझेदारीका लागि धन्यवाद दिँदै उनले भारतले नेपालको भैंसीको नश्ल सुधार (ब्रिडिङ प्रयोजन)का लागि मुर्रा राँगो उपलब्ध गराएको बताए। प्रधानमन्त्री देउवाले उखुको जर्मप्लाज्मसहितका विविध विषयहरुको उठान गरे।

दुवै पक्ष पारवहान सन्धी पुनरवालोकन सम्बन्धि निष्कर्ष दिन सहमत भएका छन्। यस पुनरवालोकनले रेल, कार्गो, ट्रान्ससिपमेन्ट, निजि क्षेत्रको सहभागिता, इनल्याण्ड वाटरवे, थप बन्दरगाहको उपलब्धताका विषय उल्लेख छ। त्यस्तै दुबै पक्ष चाँदनी दोधारामा बन्दरगाह र आइसीपी निर्माणका विषयमा छलफल गरेको मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

भारतद्वारा ५०० मिलियन डलरको प्रस्ताव माग

यसैबिच द्विपक्षीय छलफलका क्रममा भारतीय पक्षले नेपाललाई पाँच सय मिलियन डलर बराबरको प्रस्ताव माग गरेको छ।

भारतले नेपाललाई ५०० मिलियन डलर बराबर एलओसी-४ अन्तर्गत ऋण दिने प्रतिवद्धता जनाएको थियो। ‘लाइन अफ क्रेडिट’ मार्फत भारतले उपलब्ध गराउने भनेको खर्च नभएको ऋण प्रयोगका लागि नयाँ प्रस्ताव दिन भारतले नेपाललाई आग्रह गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै दुवै प्रधानमन्त्री दुई देशबिचको सीमा विवादका विषयमा छलफल गरेको उल्लेख छ। प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गर्न आग्रह गरेको उल्लेख छ।

संवादको निरन्तरता, कार्यान्वयनमा प्रश्न

यसैबिच प्रधानमन्त्री देउवाको वणारसीसहितको ‘तिर्थाटन’मा यसअघि भइरहेका छलफलहरुले निरन्तरता त पाए। तर, कार्यान्वयनको विषयमा भने ठोस प्रगति हुने देखिएको छैन।

प्रधानमन्त्री देउवाको यो भ्रमणका क्रममा उर्जा क्षेत्रको साझेदारीलाई विशेष प्राथमिकता राखिएको दुई देशबिचको संवादले देखाएको छ।

त्यस्तै नेपालले हवाई प्रवेश विन्‍दुको विषय निरन्तर रुपमा उठाउँदै आएको छ। नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाले यस विषयमा भारतीय प्रधानमन्त्रीलाई आग्र गरेको उल्लेख त गरेको छ। तर, भारतीय विदेश मन्त्रालयको वक्तव्यमा यसले स्थान पाएको छैन।

प्रधानमन्त्रीका हरेक भारत भ्रमणमा उठ्ने पञ्चेश्वर परियोजनाको विषयमा ठोस उपलब्धी हासिल भएनन्। दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा यसले स्थान त पाएको छ। तर, ठोस उपलब्धि देखाएको छैन। नेपाल र भारत अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन सहमत भएका छन्। जुन सहमति हरेक पटकको भ्रमणका क्रममा हुने गरेको छ।

यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबिच टुटेको संवादको कडीलाई जोडेको छ। यद्यपि केही दस्तावेजको आदान प्रधान बाहेक ठूलो उपलब्धी हुन सकेको छैन।

यस्तै, प्रधानमन्त्री भए पनि सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालयमा पुग्दा देउवाको आलोचना भयो। प्रधानमन्त्री देउवाले त्यहाँका विपक्षीसँग भेटको कार्यक्रम राखेनन्। उनले भाजपासँग नेपाली कांग्रेसको सम्बन्धलाई अगाडि बढाउने काम गरे। जुन काम प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले राखी बाँधेर सुरुवात गरेकी थिइन्।

कांग्रेसका नेताहरु दिल्ली पुगेर यसलाई निरन्तरता दिएका थिए। त्यसैको निरन्तरता देउवाले पनि देखाए। 

भारतीय नेताहरु नेपाल भ्रमण गर्दा पशुपति पुग्छन्। मोदी त पशुपतिसँगै जानकी मन्दिर मुक्तिनाथ पुगेर पूजा गरेका छन्। प्रधानमन्त्री देउवा वाणरसी पुगेर पूजा गरे। ज्योतिसमा विश्वास गर्ने प्रधानमन्त्री देउवा हिन्दुवादी पार्टी भाजपाको मुख्यालयमा पुग्नु, वाणरसीमा पूजा गर्नुले पनि उनको भ्रमण भारतको औपचारिक भ्रमण भन्दा बढी 'तीर्थाटन' का रुपमा समेत लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell