PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पाकिस्तानमा राजनीतिक ट्वीस्ट : प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव खारेज, राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिलाई अनुरोध



पहिलोपोस्ट

पाकिस्तानमा राजनीतिक ट्वीस्ट : प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव खारेज, राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिलाई अनुरोध
PHOTO : ANADOLU AGENCY

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध विपक्षीले दर्ता गराएको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरिदिएका छन्। आइतवार उपसभामुख कसिम खान सुरीले अविश्वासको प्रस्ताव संविधानको धारा ५ विरुद्ध रहेको भन्दै खारेज गरिदिएको डन न्यूजले जनाएको छ। 

विपक्षीले सभामुख असाद काइसेरविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि आइतवारको सत्रको अध्यक्षता उपसभामुख सुरीले गरेका थिए। 
संविधानको धारा ५ मा सबै नागरिक राष्ट्र प्रति वफादार हुनुपर्ने उल्लेख छ। त्यस्तै धारामा संविधान र कानुन प्रति हरेक नागरिक आज्ञाकारी हुनुपर्ने उल्लख छ। 

राष्ट्रियसभाको आजको बैठकमा खान विरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुने चर्चा थियो। बैठक सुरु भएको केही समयमा नै सूचना मन्त्री फावाद चौधरीले धारा ५ को स्मरण गराउँदै सरकार विरुद्ध विदेशी 'कन्सपिरेसी' चलेको भन्दै खारेज गर्नुपर्ने बताएका थिए। 

उनले मार्च ७ मा पाकिस्तानी राजदूतहरुलाई विभिन्न देशले भेट गरी अविश्वासको प्रस्ताव ल्याइएको दाबी गरेका थिए।  विपक्षी दलले त्यहाँको राष्ट्रिय सभाको ३४२ सदस्य मध्ये बहुमत बढीको समर्थन जुटाइसकेका थिए। 

यसैबिच पाकिस्तानका प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसँग राष्ट्रियसभा विघटनको आग्रह गरेका छन्। उनले आइतवार सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरिदिएपछि उनले यस्तो अनुरोध गरेको डन न्यूजले जनाएको छ। उनले जनतालाई बधाई दिँदै विदेशीको सत्ता परिवर्न गर्ने प्रयास असफल भएको दाबी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell