काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने तय भएको छ।
भूकम्पपछि केही वर्ष भग्नावशेषमात्रै रहेको स्थानमा २०७५ सालबाट काष्ठमण्डप निर्माणको कार्य सुरु भएको थियो। लकडाउनको अवधिमा समेत काष्ठमण्डप पुनर्निर्माणको काम भएको थियो। करिब ३ वर्ष ८ महिनाको अवधिमा काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।
भूकम्पपछि भएको अनुसन्धानबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ। त्यहाँ एउटा काठ पाँचौ शताब्दीको समेत भेटिएको थियो। यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिँदै गएको हुन सक्ने अनुमान गरिएको छ।