PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित



पहिलोपोस्ट

साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले साविक विजेता चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ५४ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ १९ औं ओभरमा  १२६ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि लिआम लिभिङस्टनले अर्धशतकी पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए।

बलिङतर्फ चेन्नइका क्रिस जोर्डन र ड्वेन प्रिटोरियसले समान २ विकेट लिँदा मुकेश चौधरी, ड्वेन ब्राभो र रबीन्द्र जडेजाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले सुरुबाटै खराब प्रदर्शन गर्‍यो। मोइन अलीलाई शुन्य रनमै गुमाएको चेन्नइले रुतुराज गाइक्वडलाई १ रनमा गुमायो। चेन्नइका लागि शिवम् दुबेले सर्वाधिक ५७ रन बनाउँदा महेन्द्रसिंह धोनीले २३ तथा रोबिन उथप्पा र अम्बाती रायडूले समान १३ रन जोडे।

चेन्नइलाई लक्ष्यसम्म पुग्न नदिन पञ्जाबका राहुल चहरले सर्वाधिक ३ विकेट लिँदा वैभव अरोरा र लिआम लिभिङस्टोनले समान २ र कागिसो रबाडा, अर्शदीप सिंह र ओडिन स्मिथले समान १ विकेट लिए।

चेन्नइले जारी सिजन तीन खेल खेलेकोमा यसअघिका दुई खेलमा कोलकत्ता र लखनउसँग पराजय ब्यहोरेको थियो। अर्कोतर्फ पञ्जाबले यसअघि कोलकत्तासँग पराजय ब्यहोरेको थियो भने बेङ्ग्लोरलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell