PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता



रिना थापा

एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता

पोखरा : पोखरामा एक निजी विद्यालयको शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सात कक्षामा अध्ययनरत छात्राले विद्यालय जान नमानेपछि शिक्षकको यौन दुर्व्यवहार खुलेको हो।

हिल साडड स्कुलमा अध्ययनरत छात्रा विद्यालय जान नमानेपछि परिवारले कारण सोध्दा शिक्षकले उनलाई असहज हुनेगरी जथाभावी छुने गरेको खुलाएकी हुन्।

ती छात्राजस्तै उनका अन्य साथीहरुलाई पनि ती शिक्षकले असहज हुनेगरी छुने गरेको उनले बताएकी थिइन्। उनले परिवारमा भन्नु अगावै उनीसँगै अध्ययनरत अन्य तीन जनाले विद्यालय प्रशासनलाई ती शिक्षकबारे जानकारी गराएका थिए। तीन जना विद्यार्थीले आफूमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको बताउँदै उनीहरु विद्यालयको बोर्ड मेम्बरसम्म पुगेका थिए। उनीहरुको गुनासोलाई त्यहाँबाट सम्बोधन भएन। विद्यालय प्रशासनलाई बोर्ड मेम्बरले यस विषयमा जानकारी दिएनन्। उक्त कुरा विद्यालय प्रशासनले स्वीकार गरेको छ । पछिल्लो समय छात्राको विषय आइसकेपछि मात्र विद्यालय प्रशासनले यसबारे जानकारी पाएको बताएको छ।

'पहिलेको कम्प्लेन मसँग आएन। यसअघि तीन जनाले बोर्डको सरलाई भन्नू भएको रहेछ। अस्ति यो कुरा आइसकेपछि मिटिङमा बल्ल खुलेको हो,' हिल साइडका प्रिन्सिपल विष्णु हमालले भने।

छात्राको गुनासो लिएर अभिभावक गत मंगलवार विद्यालय पुगेका थिए। दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई विद्यालयले कारवाही गर्नुपर्ने उनीहरुको माग थियो। तर, विद्यालय प्रशासन भने यस विषयमा गम्भीर देखिएको छैन। एकै शिक्षकलाई चार जना विद्यार्थीले दुर्व्यवहारको आरोप लगाउँदा परिवारले शिक्षकलाई निकाल्नुपर्ने माग राखेका छन्। विद्यालयलाई ती शिक्षकबारे जानकारी भइसकेपछि पनि कारवाही नभएकोमा पीडित विद्यार्थीको परिवार अचम्मित बनेको छ।

'यसअघि पनि विद्यालयमा त्यही टिचरको कम्प्लेन पुगेको रहेछ। त्यतिबेला विद्यालय किन बोलेन?,' पीडित विद्यार्थीका परिवारका एक सदस्यले भने, 'प्रशासनले एक्सन लिएको भए अहिले फेरि गुनासो आउथेन। यस्तो विषयमा गम्भीर हुनुपर्थ्यो।'

परिवारका ती सदस्यका अनुसार विद्यालयले तत्कालका लागि शिक्षकलाई कारवाही नगर्ने तयारी गरेको छ। पाठ्यक्रम सकिन अन्तिम समय रहेकाले विद्यालयले शिक्षकलाई कारवाही नगर्ने रणनीति लिएको हो। आरोपित शिक्षकले विद्यालयमा कक्षा सातदेखि दशसम्म पढाउँछन्।

अभिभावकले बताए अनुसार विद्यालयका शिक्षकले पनि तत्कालका लागि शिक्षकलाई कारवाही गर्न नमिल्ने सुनाएका छन्। 'कोर्स सकिन एक हप्ता पनि छैन। चार दिनलाई राखौंला। एक्जाममा पनि नराखौंला। केही दिनमात्र हो,' ती शिक्षकले भनेका छन्। आरोपित शिक्षक यसअघि सरकारी विद्यालयबाट अवकाश पाइसकेका व्यक्ति हुन्। उनले वाग्लुङको सरकारी विद्यालय र स्याङ्जामा निजी विद्यालयमा पढाएका थिए। विद्यालय प्रशासन मौन रहेर नै विषय शान्त पार्ने पक्षमा रहेको पीडित विद्यार्थीको परिवारको आरोप छ। विद्यालय प्रशासनले जानकारी भएर पनि यसबारे चासो नै नदिएको परिवार सदस्यले बताए।

यता विद्यालयका प्रिन्सिपल हमालले भने यसबारे आफूहरु गम्भीर र शर्तक रहेको बताए। 'मैले चाहिँ यो कुरा राखlसकेको छु। डाइरेक्टर सरले म कुरा गर्छु भन्ने भएको हो। म टर्मिनेट गर्ने पक्षमा हो,' उनले भने, 'तर, ममात्र होइन। मभन्दा माथि पनि हुनुहुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell