काठमाडौं : स्थानीय तह निर्वाचन नजिकिएसँगै धनकुटाका राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन्। चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ-आफ्नो सक्रियता बढाएका हुन्।
नेकपा (एमाले)को पकड रहेको बताइने धनकुटामा सत्तारुढ गठबन्धन मिलेर भए पनि एमालेलाई पराजित गर्ने रणनीतिमा छ। एमालेले आफ्नो पकडा जोगाउन पनि निकै सक्रियता बढाइरहेको छ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो। राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेतालाई जिल्लामा बोलाएर कार्यक्रममा गरिरहेका छन्। यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति दिनेश राईले बताए।
सत्तारुढ दलले गठबन्धन गरेरै भए पनि एमालेले धनकुटाका ६० मध्ये ५२ वडामा र सातवटै तहमा विजयी हासिल गर्ने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको दाबी छ। गएको निर्वाचनको मत परिणामलाई हेर्दा सत्तारुढ दलबिच गठबन्धन हुँदा एमालेभन्दा गठबन्धन निकै मतले अगाडि रहेकाले देखिन्छ। त्यसैले पनि गठबन्धन दलका उम्मेदवार विजयी हुने नेकपा (माओवादी केन्द्र)का नेता ऋषिराम ढुङ्गाना बताउँछन्।