काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरेकी हुन्।
काठमाडौं महानगरपालिकाको अनुदानमा निर्मित काष्ठमण्डपको सोमवार भण्डारीले लोकार्पण गरेकी हुन्। भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूची क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरिन्।
नुन र तेलको भाउ एकै नभएसम्म काष्ठमण्डप निर्माण सम्पन्न नहुने विश्वास रहेकाले भूकम्पपछि निर्मित काष्ठमण्डपको लोकार्पण गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।
पहिला भारत र तिब्बतको व्यापारिक नाकाका रुपमा थियो काठमाडौं। त्यतिखेर नै बनेको हो काष्ठमण्डप। व्यापारका लागि आउने मानिसको आरामका लागि धेरै ठाउँमा सत: (सत्तल)हरु बनाउने कार्य भएको थियो। त्यही अनुरुप 'मरु सत:' अर्थात् काष्ठमण्डप बनेको विश्वास गरिन्छ। पछि, त्यसको प्रयोग धार्मिक कार्यका लागि हुन गयो।
काष्ठमण्डपको लोकार्पण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। साथमा पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्य
२०७२ साल वैशाख १२ गते गएको भूकम्पमा परी सातौं शताब्दीमा बनेको काष्ठमण्डप ढल्यो। काठमाडौंको पहिचान बनेको यही संरचनामाथि राजनीति पनि चर्कै भयो। पुनर्निर्माण प्रकिया थालनी नभएको भन्दै सरकारको आलोचना समेत भयो। स्थानीय समुदायले काठमाडौंलाई नाम दिएको काष्ठमण्डपको पुनर्निर्माणका बारेमा धेरै छलफल गरे। तर, निकास निस्केन।
स्थानीयले जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण हुनुपर्छ भनेर माग राखे। जनसमुदायले पुरानै शैलीमा काष्ठमण्डप बनाउनुपर्ने र कंक्रिटको प्रयोग गर्न नदिने अडान राखिरहे। पुनर्निर्माणका लागि जनस्तरमै सुझाव संकलन गरियो। समुदायको आर्थिक सहयोगबाट निर्माण गर्ने कुरा समेत भयो। यद्यपि, त्यसले मूर्त रुप लिन सकेन। काष्ठमण्डपको 'डिजाइन' र पुनर्निर्माण गर्न प्रयोग गरिने सामाग्रीका बारेमा पनि धेरै विवाद भयो। अन्तत: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दियो।
२०७५ जेठमा महानगरपालिकाले जनताको प्रत्यक्ष सहभागितामा काष्ठमण्डप पुनर्निर्माण समिति बनाउने निर्णय गर्यो। काष्ठमण्डप पुनर्निर्माण समितिको अध्यक्ष बने प्रदेश वाग्मती प्रदेशका सांसद राजेश शाक्य। समिति गठन लगत्तै काष्ठमण्डप पुनर्निर्माणका लागि सुझाव संकलन गरियो। पुरातत्व विभागले काष्ठमण्डपको नक्सा स्वीकृत गरेपछि काम सुरु भएको थियो।
काष्ठमण्डप बनाउनका लागि आवश्यक पर्ने काठ खोज्न निकै समय लाग्यो। जसकारण पनि काष्ठमण्डप पुनर्निर्माण कार्य ढिला हुन पुग्यो। अन्तत: वन मन्त्रालयको सिफारिसमा २०७५ साउनमा मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको ४०० के बी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डप पुनर्निर्माणका लागि दिने निर्णय गर्यो। समिति र टिम्बर कोर्पोरेशन नेपालसँग काठ खरिद गर्ने सम्झौता भयो। महोत्तरीको बर्दिबास टुटेश्वरनाथ साझा वन र गढन्ता साझा वनबाट काठहरु ल्याउने सहमति भयो।
तर, पनि काठको सकस हटेन। एउटा प्रदेशबाट अर्को प्रदेशबाट काठ ल्याउनुपर्ने र काष्ठमण्डपकै लागि भनेर रुख काट्न नपाइने भएपछि मधेश प्रदेशबाट काठ ल्याउन नेतृत्व तहबाट नै पहल गर्नु परेको बताउँछन् शाक्य। काष्ठमण्डप पुनर्निर्माणमा ८ हजार १९ क्यु फिट नयाँ काठ र ४ हजार ४९३ क्यु फिट पुरानो गरी प्रयोग भएको छ।
शाक्य अहिले काठमाडौंमा रुखको कमी भएको र काठ खोज्न सकस भएको भन्दै फेरि काष्ठमण्डप बनाउन परे काठ खोज्न नपर्ने वातावरण बनाउन पर्ने बताउँछन्। त्यसैका लागि काठमाडौं वरिपरि नै वृक्षारोपण गर्नुपर्ने उनको सुझाव छ।
‘काष्ठमण्डप विभिन्न चरणमा बन्दै आएको हो। त्यहाँ पाँचौं शताब्दीदेखि विभिन्न समयका काठ फेला परेका छन्। यसबाट नै काष्ठमण्डप विभिन्न समयमा बनेको पुष्टि हुन्छ,’ शाक्यले भने, ‘यसपटक भने हामीलाई काठ ल्याउन निकै गाह्रो भयो। कानुनी अलमल अनि अर्को प्रदेशबाट ल्याउनु पर्ने। हाम्रोमा चाहिने काठ नहुने। त्यसैले हामीले अब हाम्रै वरिपरि आवश्यक पर्ने काठ फेला पर्ने गरि वृक्षारोपण गर्नुपर्छ। अब फेरि काठ खोज्न बाहिर जान नपरोस्।’
भूकम्पपछि भएको अनुसन्धानबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको थियो। त्यहाँ एउटा काठ पाँचौ शताब्दीको समेत भेटिएको थियो। यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिँदै गएको हुनसक्ने आँकलन गरिएको छ। काष्ठमण्डपको उत्खनन् र त्यहाँ रहेका काठको अनुसन्धान गर्दा काष्ठमण्डप विभिन्न कालखण्डमा निर्माण भएको देखिएको छ।
२०७२ सालको भूकम्पकै कारण मात्रै भने काष्ठमण्डप नढलेको विज्ञहरु बताउँछन्। काष्ठमण्डपको मर्मत सम्भारको कमी र त्यसमा प्रयोग भएका सामाग्रीहरुको आयू सकिएकाले पनि काष्ठमण्डप ढलेको विज्ञ बताउँछन्। अब भने नियमति संरक्षणको कामको व्यवस्था गर्ने तयारी भइरहेको छ।
भूकम्पपछि केही वर्ष भग्नावशेष मात्रै रहेको स्थानमा २०७५ सालबाट काष्ठमण्डप निर्माणको कार्य सुरु भएको थियो। लकडाउनको अवधिमा समेत काष्ठमण्डप पुनर्निर्माणको काम भएको थियो। करिब ३ वर्ष ८ महिनाको अवधिमा काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।
२०७५ माघ २७ गते काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको 'प्यंग थां' (चारवटा मूल थाम) ठड्याइएको थियो। काष्ठमण्डपमा चारवटा मूल थाम हुनेमा एउटा थाम भने पुरानै काष्ठमण्डपको प्रयोग गरिएको थियो। पुरानो काष्ठमण्डपमा जस्तै सुनको मण्डप बनाई 'ईःलोंह' र मूल थामको बीचमा राखेर थाम ठड्याइएको थियो। चारवटा थामका लागि दुई किलो सुन प्रयोग गरिएको समितिले जनाएको छ।
सबै काठ मधेश प्रदेशबाट ल्याउनुपर्ने भएकोले पनि पुनर्निर्माणमा ढिलाइ भएको हो। काष्ठमण्डप पुनर्निर्माणका क्रममा ठूलो र सानोगरी करिब १ लाख ६० हजार मा:अप्पा, १५ हजार तेलिया टायल, ९५ हजार झिँगटी प्रयोग भएको छ।
मुख्य नाइके लक्ष्मीभक्त राजचलको नेतृत्वमा भक्तपुरका सिर्कमी, डकर्मी, अवाल लगायतले काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गरेका हुन्। पुर्नर्निर्माणको क्रममा काष्ठमण्डपमा थाम राख्ने बेलादेखि मूर्तिहरु प्रतिस्थापन गर्दा समेत अनुष्ठान पूजाहरु गरिएको थियो।
यस्तै, काष्ठमण्डपको पुनर्निर्माण सम्बन्धी किताब निकाल्ने तयारी भइरहेको शाक्यले बताए। नेपाल भाषा, नेपाली र अंग्रेजीमा पुनर्निर्माणको सुरुवातदेखि अन्तिम चरणसम्मका कार्य, दस्तावेज र तस्विर लगायतका सामाग्री पुस्तकमा समेटिने बताइएको छ।
२०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप सम्बन्धी धेरै दस्तावेज र बनेको प्रक्रिया नभएकाले भावी पुस्ताका लागि सन्दर्भ सामाग्रीका रुपमा उक्त किताब प्रयोग गर्न सकिने बताइएको छ।