- वेदबहादुर खड्का-
घटना २०७६ साल फागुन ३ गतेको हो। घडियाल अनुगमन गर्ने क्रममा काठको एउटा सानो डुंगा लिएर यो पङ्क्तिकार दुई जना डुंगा चालकसहित नारायणी नदीको त्रिवेणी नजिक भेलौजीमा पुग्यो। भेलौजी क्षेत्र मानव बस्तीबाट टाढै पर्छ। त्यस क्षेत्रमा पुग्न त्रिबेनीबाट नदी किनाराकिनारै माथितिर हिँडेर आउँदा ३ घण्टा र वगुवन गाउँबाट तलतिर हिँड्दा पनि त्यति नै समय लाग्दछ। डुंगाबाट यात्रा गर्दा भने केही समय कम लाग्दछ। मानवीय पहुँचभन्दा टाढा रहेकोले नारायणी नदी किनारको त्यो क्षेत्र एकदम सुनसान छ। त्यहाँ शान्ति प्रिय घडियाल गोहीहरू मनग्य सङ्ख्यामा पाइन्छन्। मानिसहरूसँग हिमचिम नहुने गरेकाले डुंगा र मानिस देख्नासाथ नदीको बगरमा घाम तापेर बसेका घडियाल झटपट पानीमा हाम फालेर सुरक्षित हुने गर्दछन्। त्यसैकारण यो अवस्थामा त्यहाँ रहने घडियालका फोटो खिच्न एकदम कठिन थियो। त्यसमा पनि भाले घडियालको फोटो लिन अझ धेरै कठिन महसुस गरियो।
नारायणी नदी र राप्ती नदीका अन्य क्षेत्रमा भने घडियालको फोटो खिच्न प्रायः कठिन हुँदैन। पर्यटक र माझीहरूका डुङा नदीमा चलिरहने हुँदा अभ्यस्त भएर होला घडियालहरू धेरै तर्सेको देखिन्न र घडियालको फोटो खिच्ने अवसर मिल्दछ।
घडियाल गोही खोज्ने क्रममा खोलाको बगरमा बास।
भेलौजीमा रहेका भाले घडियालहरूको फोटो लिनु नै पर्ने अठोट गर्यौ किनकि त्यस बखत नारायणी नदीमा भाले घडियालहरू एकदमै न्यून सङ्ख्यामा पाइन्थे। अतः फोटो खिच्नको लागि एउटा जुक्ति निकाल्यौ। हामी चढेको डुंगालाई घडियालको दृष्टि नपर्ने गरी छेल पारेर नदीको एक कुनातिर लुकायौ। हामी भने नदी किनारको अग्लो ढिक/ढिस्को चढ्यौ जहाँ झाडी बुट्यान र वृक्षहरू सिवाय अरू केही पनि थिएन। डाँडाले छेल परेको कारणले ढिक वरपर घाम नलाग्ने ओसिलो जङ्गलबाट छिपछिपे पानी रसाइरहेको थियो। नदीको किनारमा चट्टानै चट्टान र अक्करे अप्ठेरो भू–बनोट देखिन्थ्यो। यस्तो क्षेत्रमा सितिमिति निकुञ्जको गस्ती टोली पनि बारम्बार पुग्न सक्ने अवस्था देखिएन।
ओसिलो र चट्टानी नदी किनारको भू बनोटमा समेत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने गोरेटो बाटो फेला पर्यो। उक्त गोरेटोमा भरखरै हिँडेको बाघको ताजा पाइलासमेत देखियो। अत्यन्तै एकान्त, सुनसान र नदीको कलकल आवाजले हामीलाई आनन्द आइरहेका वेला बाघको ताजा पाइला देखिएपछि हल्का डर पनि लाग्न थाल्यो। तैपनि जे त पर्ला भनेर एक आपसमा नबोलीकन इसाराको भरमा बिस्तारै बिस्तारै हिँड्यौ। बाघ हिँडेकै गोरेटोमा हिँड्दै घरी गोरेटो छोड्दै घरी मिसिँदै गोरेटोलाई पहिल्याउँदै घडियालले थाहा नपाउने गरी झाडीबाट नदीको घडियाल नियाल्दै अगाडि बढियो। बगरमा घाम तापेको घडियाल सामुन्ने माथि ढिस्कोमा पुगेपछि त्यहीँबाट भाले घडियालको फोटो खिच्ने अवसर प्राप्त भयो।
घडियाल गोही अनुगमनको क्रममा अनुगमन कर्ताहरू नारायणी र राप्ती नदीमा डुंगामा यात्रा गर्नु पर्दछ। यसरी यात्रा गर्दा रात परेपछि नदीकै किनारमा बास बस्ने गरिन्छ। साथै अनुगमनमा जाल, बल्छी अड्केका घडियाल देखिएमा सम्भव भएसम्म ठाउँको ठाउँ अनुगमन टोलीले नै पीडित घडियालहरूलाई पक्रेर जालमुक्त गरिन्छ। त्यो काममा जनशक्तिको कमी महसुस भयो भने नजिकैका माझी समुदायको सहयोग लिइन्छ। त्यसबखत जालमुक्त गर्ने काम सफल हुन यदि सकेन भने निकुञ्जको नजिकको पोस्टलाई अनुगमन गरिराख्न सूचना दिइ अनुगमनको कार्य जारी राख्ने गरिन्छ।
विगतमा अख्तियार गरिएको यस्तो घडियाल अनुगमन कार्यले सालिन्दा धेरै घडियालको कल्याण भएको थियो। यो अनुगमन कार्य कार्यालयको नियमित कार्यक्रममा नरहेकाले कुनै रकम विनियोजित थिएन अतः भत्ता सुविधाहरू उपलब्ध हुने कुरै थिएन। राज्यले उपलब्ध गराउने न्यूनतम तलब भत्ता मात्र खाएर पनि अनुगमन कार्य जारी राखिन्थ्यो। नारायणी र राप्ती नदीमा घडियाल अनुगमन जलयात्राको दुरी झन्डै २०० किमी हुने गर्दछ।
त्यसबखत चितवन राष्ट्रिय निकुञ्जमा नियमित रूपमा जलचर लक्षित कार्यक्रमहरू सञ्चालन भई नै रहन्थे। यस्ता जलचर लक्षित कार्यक्रमहरू निरन्तर नै सञ्चालन गर्न आवश्यक देखिन्छ। यदि हामीले यी काम गर्न चुक्यौ भने घडियाल गोहीमात्र होइन अन्य धेरै जीव सम्पदासमेत गुमाउन पर्ने हुन सक्दछ। मेरो अनुभवको यो लेखले निकुञ्ज व्यवस्थापन र नीति निर्माता तहमा रहेकाहरूलाई घचघच्याओस। समयोचित संरक्षण व्यवस्थापनका कदमहरू अगाडि बढाइयोस भन्ने मात्र हो।
घडियाल गोहीको अनुगमन निस्किएको टोली।
निरन्तर घडियाल अनुगमनको कार्यबाट नै नारायणी नदीमा एकमात्र घडियाल गोहीको भाले रहेको पत्ता लागेको थियो साथै त्यो भाले गोहीको मृत्यु भएको पनि पत्ता लाग्यो। भाले विना गोहीहरूको प्रजनन हुने कुरै भएन। यो तत्थ्य उजागर हुनासाथ बर्दियाको बबई नदीबाट गोहीको भाले नारायणी नदीमा स्थानान्तरण गराई वंशाणुको श्रोत आपूर्ति भयो। यो एउटा उदाहरण मात्र हो जसले प्राकृतिक अवस्थामा भालेको शून्यतालाई मात्र मेटाएन, प्राकृतिक प्रजननको निरन्तरता रह्यो। अझ सकारात्मक कुरा के थपियो भने बबईको घडियाल गोहीको वंशले नारायणी नदीमा रहेका घडियाल गोहीको वंश विकास/सुधार गर्न मद्दत गरेको हुनुपर्छ। यसरी घडियाल गोहीको अनवरत अनुगमन नगरेको भए नारायणी नदीमा भाले घडियालको अवस्थाबारे थाहा नै लाग्दैनथ्यो। फलस्वरूप घडियालले पारेका सबै अण्डा बतासे हुन्थे अनि बल्ल खोजी गर्नु पर्ने हुन्थ्यो होला भालेको अवस्थाको विषयमा। परिणमस्वरुप पोथी घडियालहरू प्रजनन समयमा भाले खोज्दै भारततिर छिर्थे होलान्। तबसम्म ढिलो भइसकेको हुन्थ्यो होला।
जसरी भेडा गोठालाले आफ्ना भेडाका बथानमा माऊ,बच्चा, ब्याठ/ब्याड/साँढ र ब्याउने के कति छन् भनेर ख्याल राखी रहन्छ त्यसरी नै हामी घडियाल गोठालाले पनि घडियालको अवस्थाबारे ख्याल राख्नुपर्ने हुन्छ। भन्नेले भन्लान् यो काम असम्भव छ भनेर! तर असम्भव भन्ने चिज वस्तु संसारमै छैन। यी कामहरू सम्भव छ भन्ने त पहिलेदेखि नै प्रमाणित भइसकेको छ। असम्भव भन्ने शब्द अल्छीहरूको मुखमा मात्र हुन्छ होला। कसै कसैबाट यस्ता कामहरू सायद सम्भव नभए पनि असम्भव भने नहोला। त्यसैले घडियाल संरक्षण कार्यमा नदी अनुगमन निरन्तर भइरहन जरुरी छ र हामीहरू सधैँ जागरूक भएर बस्नुपर्छ! निदाएर बस्ने होइन!! संरक्षणका अग्रजहरूले घडियाल गोहीको संरक्षणमा वर्षौँदेखि बगाएको पसिनाको अवमूल्यन हुन कुनै हालतमा पनि दिनु हुँदैन।
-खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।