PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थानीय तहको उम्मेद्वार छनोटमा सकस : दुई वडा सदस्यका लागि दर्जन आकांक्षी



पी बी खड्का

स्थानीय तहको उम्मेद्वार छनोटमा सकस : दुई वडा सदस्यका लागि दर्जन आकांक्षी

सुर्खेत : स्थानीय तहको निर्वाचन नजिकिएसँग दलका नेता कार्याकर्ता आफ्नो पार्टीलाई जिताउने भन्दै घरदैलो गर्ने क्रम ह्वातै बढेको छ। पार्टी प्रवेश कार्यक्रमको रापताप यो बेला देखिन्छ नै। यही रापमा आफ्नो दलको उम्मेदवार टुंगो लगाउन लागिपरेका छन् दलहरु। यद्यपि आकांक्षी धेरै देखिएपछि उम्मेद्वार टुंगो लगाउन दलहरुलाई हम्मे परेको देखिन्छ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रमुख राजनीतिक दलहरुलाई उम्मेदवारीको छिनोफानो गर्न मुश्किल परेको हो। विशेषगरी सत्ता गठबन्धन दलको प्रमुख नेपाली कांग्रेसलाई वडा सदस्यदेखि गाउँ/नगरका प्रमुख/अध्यक्ष एवं उपप्रमुख र उपाध्यक्षका आंकाक्षी टुंग्याउन मुश्किल परेको देखिन्छ।

यहाँको एक वडामा कांग्रेसको तर्फबाट दुई जना वडा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरिएको छ। वीरेन्द्रनगरको वडा नं. ६ मा अध्यक्ष पदका लागि ३ जनाको नाम र दुई सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्नुपरेको वडा सभापति जनक रावलले बताए।

‘पद एउटा छ, आकांक्षी धेरै हुनुहुन्छ। उहाँहरुको चित्त बुझाउन भएपनि हामीले सबै आकांक्षी उम्मेदवारको नामावली सिफारिस गरेका छौँ,’ उनले भने।

राजनीतिक दलका वडा समितिहरुले भेलाबाट सम्भावित उम्मेदवारको नाम तय गरी केन्द्रीय नेतृत्वलाई सिफारिस गरेका छन्। तर, वडामै आकांक्षी धेरै भएपछि एक पदका लागि सात/आठ जनासम्म सिफारिस गर्ने गरिएको छ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी) र नेकपा (एमाले)को केन्द्रिय तहबाट तीन/तीन जनासम्म उम्मेदवार सिफारिस गर्ने परिपत्र छ। तर, आकांक्षी व्यवस्थापन गर्न र थामथुम पार्न भन्दै धेरै उम्मेदवारको नाम सिफारिस गरिएको छ।

यता, नेकपा एमालेभित्र पनि वडा सदस्यदेखि गाउँ तथा नगरका प्रमुख उप्रमुखको आकांक्षी धेरै छन्। यद्यपि, पार्टीले सर्वसम्मतिबाट उम्मेदवार छनौट गर्न निर्देशन दिएको एमाले जिल्ला कमिटि सुर्खेतका उपाध्यक्ष कूलमणि देवकोटाले जानकारी दिए।

‘हाल सवै स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार सिफारिस गर्ने गरी छलफल र भेला भइरहेको छ,’ उपाध्यक्ष देवकोटाले भने, ‘यदि सर्वसम्म भएन भने प्रत्येक पदमा एक जना महिलासहित दुई जना सिफारिस गर्ने मापदण्ड गराएका छौँ। सोहीअनुसार सिफारिस गर्छौं।’

त्यस्तै एमालेले यसै महिनाको २५ गतेभित्र वडा तहको र ३० गतेभित्र प्रमुख/उप्रमुख र अध्यक्ष/उपाध्यक्षको उम्मेदवारको नाम सिफारिस गर्न पार्टीले निर्देशन जारी गरेको उपाध्यक्ष देवकोटाको भनाई छ।

कांग्रेस लगाएतका अन्य दलबीच गठबन्धनको तयारी गरेपनि नेकपा एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार रहेको उनको भनाई छ। सवै दलहरु मिले पनि स्थानीय तहको निर्वाचन एमालेको पल्ला भारी हुने उनको दावी छ।

सत्ता गठबन्धन दलहरुलाई चुनौति दिँदै एमालेले गाउँनगर कमिटिमा सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। अध्यक्ष पदका उम्मेवदार धेरै भएपछि तल्लो तहमै छलफल गर्ने र त्यहाबाट टुंगिन नसके माथिल्लो तहबाट टुंगाउने गरि छलफल गरेका छन्।

तत्कालिन एमालेबाट फुटेर बनेको समाजवादी दलमा भने उम्मेदवारी सम्वन्धमा कुनै समस्या नभएको जिल्ला अध्यक्ष मोहन बडुवालले जनाए। उनका अनुसार पार्टीको वडा सदस्यदेखि माथिल्लो पदसम्म कुनै विवाद र समस्या छैन।

यता, कांग्रेसको शेखर कोइराला समूह अर्थात सुर्खेतमा ह्दयराम थानी समूहले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने अडान राखेको छ। आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा भाग लिएर सफलता हात पार्नुपर्छ भन्ने आम कार्यकर्ताको भनाई रहेको निवर्तमान क्षेत्रीय सभापति नारायण कुमार कोइरालाले बताए।

‘आगामी निर्वाचनमा कांग्रेस एक्लै भाग लिएर सफल हुनुपर्छ भन्ने आमकार्यकर्ताको भनाई छ, यदि आम नेता कार्यकर्ताको चाहना र भावना विपरीत भए ठेस पुग्ने देखिन्छ,’ उनले भने, ‘एक पटकको निर्वाचनको मत परिणामलाई मात्रै हेरेर एलाइन्स गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौँ यदि हुनुपर्ने नै भयो भने पनि स्थानीय तहको जिम्मा दिनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell