धनाढ्य इलोन मस्कले ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका छन्। मस्कले ट्वीटरको सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो।
टेस्लाका प्रमुख कार्यकारी अधिकृतले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन्। उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।
सेयर खरिदसँगै मस्क ट्वीटरको सबैभन्दा ठूला सेयरधनी बनेका छन्। ट्वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ। मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ।
मस्कसँग आठ करोड फलोअर्स छन्। उनले केही दिन अघि नयाँ सामाजिक संजाल निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।
यसबिच उनले ट्विटर प्रयोगकर्ताहरूलाई ‘इडिट बटन चाहिन्छ?’ भनेर सोध्दै मतदान नै सुरु गरेका छन्। लामो समयदेखि प्रतिक्षा गरिएको यो सुविधाको लागि ट्विटरले काम गरिरहेको छ।
Do you want an edit button?
— Elon Musk (@elonmusk) April 5, 2022
मस्कको ट्वीटलाई रिट्वीट गर्दै ट्वीटरको प्रमुख कार्यकारी पराग अग्रवालले प्रयोगकर्ताहरूलाई ‘होशियारीपूर्वक मतदान गर्न’ आग्रह गरेका छन्।
The consequences of this poll will be important. Please vote carefully. https://t.co/UDJIvznALB
— Parag Agrawal (@paraga) April 5, 2022
यो समाचार तयार पार्दासम्म २३ लाख भन्दा बढी प्रयोगकर्ताहरूले मतदान गरेका छन्। तिनीहरूमध्ये ७३ प्रतिशत भन्दा बढीले ट्वीट इडिट गर्न मिल्ने विकल्पको समर्थन गरेका छन्।
यसअघि उनले टेस्लाको सेयर बिक्री गर्नेबारेमा पनि ट्वीटरमा सर्वेक्षण गरेका थिए। सर्वेक्षणमा धेरैले सेयर बिक्री गर्न मत दिएपछि उनले सेयर बेचेका थिए।