PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

के अमेरिकाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हटाउन खोजेकै हो? के भन्छन् 'आरोपित' विदेश उपमन्त्री डोनाल्ड लु?



पहिलोपोस्ट

के अमेरिकाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हटाउन खोजेकै हो? के भन्छन् 'आरोपित' विदेश उपमन्त्री डोनाल्ड लु?
Photo :India News

काठमाठौं : पाकिस्तानमा संसद् विघटनको नाटकीय राजनीतिक घटनाक्रम पछि एक पछि अर्को गर्दै राजनीतिक घटनाहरु विकसित भएका छन्। 

विपक्षी दलको अविश्वासको प्रस्तावलाई 'अन्तिम ओभरको अन्तिम बल' सम्म सामना गर्ने घोषणा गरेका पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक पछि अर्को 'सिक्सर' हान्दै विपक्षीलाई चकित पारे। 

मतदानको दिन आइतवार विपक्षीहरुले सभामुख विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै उपसभामुखले बैठकको अध्यक्षता गरे। बैठकमा उपसभामुख कसिम सुरीले विपक्षीको प्रस्ताव खारेज गरिदिए। लगत्तै खानले देशवासीको नाममा सम्बोधन गर्दै अविश्वासको प्रस्ताव 'विदेशीको इसारामा' ल्याइएको भन्दै विदेशी चाल परास्त भएको दाबी गरे। उनले यसलाई जनताको जित भएको घोषणा गरे। 

राजनीतिक दाउपेचसँगै अहिले पाकिस्तान मामिला अन्तर्राष्ट्रिय रुपमा तानिएको छ। 

आइतवार खानले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले अविश्वासको प्रस्ताव ल्याइएको खुलस्त पारेको बताएका थिए। त्यस्तै दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले आफूलाई राजदूत मार्फत धम्की आएकोसमेत उनले आरोप लगाएका थिए। 

उनले लु आफ्ना राजदूत असाद माजिदसँग निरन्तर सम्पर्कमा रहेको र  ती भेटमा निरन्तर रुपमा अविश्वासको प्रस्ताव पारित नभए त्यसका असरहरु आउने भन्दै धम्की दिइएको बताए। त्यति मात्र होइन पीटीआईका समर्थक पनि नियमित रुपमा अमेरिकी दूतावास पुगेको उनको दाबी छ। 'ती मान्छे जसले हामीलाई छाडेका छन् उनीहरुले दूतावासका मान्छेलाई निरन्तर भेटिरहेका छन्,' उनले भनेका थिए। 

यसैबिच रसियाले पाकिस्तानको आन्तरिक मामिलामा अमेरिकाले लज्जाजनक हस्तक्षेप गरेको आरोप लगाएको छ। रसियाली विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै गत फेब्रुअरीमै खानले मस्को भ्रमण गर्दै गर्दा अमेरिका र उसका गठबन्धनले खानलाई यात्रा नगर्न चेतावनी दिएको उल्लेख छ।  
रसियाली विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनेकी छन्- 'जब उनी हाम्रोमा आउँदै थिए 'लु' ले वासिङ्टनमा पाकिस्तानी राजदूतलाई भेटेर यात्रा नगर्न चेतावनी दिए। जुन अस्वीकार गरियो।'

पाकिस्तानी मिडियाहरुले मार्च ७ मा पाकिस्तानी राजदूत माजिद र अमेरिकी उच्च अधिकारीबिच भेट भएको जनाएका छन्। अमेरिकाले यस विषयमा सार्वजनिक अभिव्यक्ति भने दिएको छैन। स्वयम् उपमन्त्री लु भने यस प्रश्नबाट तर्किएका छन्। हाल भारत भ्रमणमा रहेका उनले भारतीय संचार माध्यमसँगको अन्तर्वार्तामा सोझो जवाफ दिन सकेनन्। 

हिन्दुस्तान टाइम्सले लुलाई सोधेको छ- 'इमरान खानले तपाईंले अमेरिकामा पाकिस्तानी राजदूतसँग वार्तालाप गरेको र अविश्वासको प्रस्तावमा बाँचे भने पाकिस्तान समस्यामा पर्छ र अमेरिकाले पाकिस्तानलाई माफ गर्ने छैन भनी बताएको जस्तो आशय व्यक्त गरेको देखिन्छ। यसमा कुनै प्रतिक्रिया छ?'

उनले आफू माथि लागेको आरोपलाई अस्वीकार गरेनन्। जवाफमा उनले भने, 'हामी पाकिस्तानमा भएका घटनाक्रमलाई पछ्याउँदै छौं र हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानूनको शासनलाई सम्मान र समर्थन गर्छौं।'

उनलाई फेरि हिन्दुस्तान टाइम्सले सोध्यो, 'के तपाईँले त्यस्तो संवाद गर्नुभएको थियो?' उनले यस प्रश्नलाई पनि 'स्कीप' गर्दै भने, 'यस विषयमा मेरो जवाफ अघिल्लो प्रश्नमै आयो।' 

यद्यपि, पाकिस्तानी संचार माध्यम डनको चासोमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell