PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

मधेशमा मत तान्ने ओली 'ट्रिक' : हलो जोत्न आउँछ, भैँसी चराएको हुँ, 'कुलमान लोडसेडिङका पिता हुन्'



राधेश्याम पटेल

मधेशमा मत तान्ने ओली 'ट्रिक' : हलो जोत्न आउँछ, भैँसी चराएको हुँ, 'कुलमान लोडसेडिङका पिता हुन्'

वीरगंज : स्थानीय तह निर्वाचन नजिकिएसँगै नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। चुनावको मत परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि चुनाव प्रचारको अभियान चलाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पार्टी प्रवेश अभियान चलाइरहेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली पनि देशव्यापी रुपमा आमसभा तथा भेला गरेर विभिन्न राजनीतिक दलका नेताहरुलाई एमाले प्रवेश गराइरहेका छन्। मंगलवार वीरगंजमा पनि एमालेले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो। त्यसक्रममा ओलीले अरु पार्टीहरुबाट आउनेलाई स्वागत गरे।

'मधेश एमालेमय हुन्छ'

एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तह निर्वाचनमा मधेशमा एमालेले सबैभन्दा बढी मत ल्याउने दाबी गरेका छन्। वीरगंजको घण्टाघरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई मधेश विरोधी भनेर भ्रम फैलाइएको आरोप लगाइएको बताए। आसन्न निर्वाचनमा मधेशमा जितेर आरोप लगाउनेहरुलाई उत्तर दिने उनले बताए।

'मधेशसँगै देशमा एमालेमा आउनेहरुको जुन किसिमको लहर छ,त्यसले मधेश तथा देशमै सबैभन्दा बढी स्थानमा एमाले विजय हुनेछ। मलाई मधेश विरोधी भनेर भ्रम फैलाइएको छ। तर सबैभन्दा सिट जितेर अगामी चुनावहरुमा देखाइदिन्छु,' ओलीले भने।

कुरा हलो र भैँसीको

उनले चुनावमा एमालेलाई विजयी गराउन आफू मधेशमै बसोवास गरेको भन्न समेत भ्याए। भैँसी चराएको देखि हलो समेत जोत्न आउने नेता आफू भएको उनको दाबी थियो। भने,'म मधेशमा भैँसीको पिठ्यूमा चढेर भैँसी चराएको मान्छे हो। हलो जोत्न पनि आउँछ, कोदालोले आली पनि बनाउन पनि आउँछ।'

आफू प्रधानमन्त्री भएका बेलामा मात्रै मधेशमा सबैभन्दा धेरै विकासका आयोजना अघि बढेको ओलीको दाबी छ। निर्वाचनलाई केन्द्रित गरेर आयोजना गरिएको सभामा ओलीले एमालेलाई चुनाव जिताउन अपिल गर्दै आफ्नो विकासको योजना समेत भन्न भ्याए।

वीरगंज रिंगरोडसहितको विकसित शहर बन्नु पर्नेमा उनले जोड दिए।  वीरगंजलाई विकसित शहरको रुपमा अघि बढाउनु आवश्यक भएको ओलीको भनाइ छ। ‘वीरगंजका मेयर साहेब राम्रो हुनुहुन्छ,तर मेरो कार्यकालमा जसपा पार्टीको कारण वीरगंजलाई जति गर्न सकिन्थ्यो त्यो गर्न सकिएन। तर अबको नेकपा एमालेको सरकारले वीरगंजलाई विकसित र सम्पन्न ग्रेटर शहरको रुपमा अघि बढाउछ,'ओलीले भनेका छन्।

अहिलेको सरकार कृत्रिम

ओलीले वीरगंजमा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरे। अहिलेको सरकारको कारण देशको अर्थतन्त्र ध्वस्त भएको ओलीको आरोप छ।  उनले अदालतको बाटोबाट षडयन्त्रपूर्वक बनेको कृत्रिम सरकारको कारण देश डुब्न लागेको टिप्पणी गरे।

भने,‘अहिले देशमा आर्थिक तरलताको समस्या छ। उद्योगी व्यवसायीले उद्योग व्यापार गर्न सकिरहेका छैनन्। कुनै पनि विकासको आयोजनाको लागि सरकारसँग पैसा छैन। ठेकेदारलाई भुक्तानी दिइएको छैन। मेरो सरकारले बढाएको आयोजनाको कामहरु सबै ठप्प छन्। गठबन्धनको सरकारले देशको भलो गर्दैन।'

'कुलमान लोडसेडिङका पिता'

देउवामाथि खनिएका ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि आक्रोश व्यक्त गरे।  घिसिङलाई लोडसेडिङ गर्ने पिता भएको भन्दै ओलीले विरोध गरेका थिए।

घिसिङलाई अहिलेको बहकिएको सरकारले टिपेर ल्याएको उनको आरोप थियो। ‘

'नेपालबाट ४  रुपैयाँमा भारतलाई बिजुली बेच्ने अहिलेको सरकारले भारतबाट रु ३८ मा बिजुली किनिरहेको छ। तर पनि भनिरहेका छन्, हामी घाटा खाएर पनि जनतालाई ९ रुपैयाँमा बिजुली दिन्छौं। आखिर त्यो कसको पैसाले त्यो सब गरिदैछ ? जनताको पैसालाई दुरुपयोग गर्न पाइदैन,' उनले भने।

मधेशकै गद्दार हुन मधेशी दल – सरावगी

सोही कार्यक्रममै वीरगंजका मेयर विजय सरावगीले मधेशी दलहरु मधेशकै वास्तविक 'गद्दार' पार्टी भएको आरोप लगाए। उनले मधेशी दलहरुले मधेशी शहीदको सपनामात्रै बेचेकाले आफू जनता समाजवादी पार्टी जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताए। उनी केही हप्ता अघि मात्रै एमाले प्रवेश गरेका थिए। ओलीले नै उनलाई एमालेमा स्वागत गरेका थिए।

‘मधेश आन्दोलन र नाकाबन्दीको बेला धेरैले तेल बेचेर धनी भएका छन्,कसैले मधेशको हकअधिकारको लागि सोच्दैन,’उनले भने,‘पर्सामा जसपालाई जिताउन आफुले अहोरात्र मेहिनेत गरेको तर,मलाई सधै दुर्व्यवहार खेप्नु पर्‍यो। तीनतीन पटक पार्टीबाट निस्किने विगतमा सोचेको थिए।तर छोडेको थिएन। सही समयमा एमाले रोजेको छु,बाँकी कुरा जनताले निर्णय गर्नेछन्।’

कार्यक्रममा लोसपा परित्याग गरी केही दिन अघि नेकपा एमालेमा प्रवेश गरेका  शिव पटेलले एमालेले नै मधेशको कल्याण गर्ने पार्टी भएको बताएका थिए। कार्यक्रममा पर्सा बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी र उनका पति राजेदेव यादव, धोबिनी गाउँपालिकाका उपमेयर पारस कुर्मी, सखुवाप्रसौनीकी उपमेयर फूलमति देवी थरुनी,वीरगंज महानगर वडा नं १४ का निलम्बित वडा अध्यक्ष भरत कुर्मी एमाले प्रवेश गरेका थिए। यस्तै, वडा नं २८ बगहीकी वडा अध्यक्ष गिरजा देवीलगायतका जनप्रतिनिधिहरुले एमाले प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell