1.jpg)
काठमाडौँः राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पुनर्वहालीको माग गर्दै तत्कालीन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो। रिट खारेजसँगै पुनः राखेप फर्कन सिलवाललाई कानुनी बाटो बन्द भएको छ।
रिट खारेजसँगै नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो। वर्तमान सरकारले सिलवालको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै कात्तिक १ गते हटाएको थियो।
सरकारको निर्णयविरुद्ध सिलवाल सर्वोच्च पुगेका थिए। सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
त्यसयता पटक पटक स्थगित हुँदै आएको मुद्दा चैत ६ गते अन्तिम सुनुवाइका लागि पेश भएको थियो। मंगलबार रिट खारेज भएको हो।