
काठमाडौँः नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन्।
मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित आर्थिक सवलीकरण (राजनैतिक शुद्धिकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन।
'केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो', उनले भने।
अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि ओलीले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै पनि देश विकास गर्न नसकेको आरोप उनले लगाए। अरुण तेस्रो परियोजना निर्माणको प्रसङ्ग जोड्दै उनले भने '५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो। केपी ओलीजीहरुका कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्यो।'
कार्यक्रममा उनले आगामी निर्वाचनमा काग्रेसले राजनीतिक शुद्धीकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताए।
देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तरीय विकासको हुनुपर्नेमा उनले जोड दिए।