
काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो ड्राफ्टमा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ।
‘अप्रेसन बाली’का क्रममा मंगलवार घाइते भएका सुर्खेतका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए। घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा भर्ना गरिएको थियो।
यसैबिच, संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।