PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कुनै समय संसारबाट दिक्क भएकी अरुज आफताबको कथा, जो बनिन् ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला



पहिलोपोस्ट

कुनै समय संसारबाट दिक्क भएकी अरुज आफताबको कथा, जो बनिन् ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला
Photo : Getty Images

ग्रामी अवार्डको ६४ औँ संस्करण समारोह। मञ्चबाट उद्घोषकले 'बेस्ट ग्लोबल म्युजिक पर्फमेन्स' विधामा विजय हुनेको नाम घोषणा गरे। नाम थियो : अरूज आफताब। नाम घोषणा गरेसँगै उत्साहित हुँदै मञ्चतिर लागिन् उनी। अनुहारमा उत्साह अनि डर। अवार्ड लिएसँगै लामो सास फेरिन्। र, बोल्न थालिन् ' मलाई लाग्छ म बेहोस हुन्छु होला। धेरै धेरै धन्यावाद। यो विधा मलाई आफैमा अद्भुत लाग्छ। यो गीतमा म टुटेको र जोडिएको कुराहरू छन्। यसलाई सुनेर अवार्ड दिनुभएकोमा धन्यावाद।'

'बेस्ट ग्लोबल म्युजिक पर्फमेन्स' विधाबाट उनले अवार्ड जितेकी थिइन्। उनलाई विजेता बनाउने गीत थियो 'मोहब्बत'। अरूजको स्टेजमा बेहोस हुने अभिव्यक्ति स्वभाविक नै थियो। ३७ वर्षीया अरूजले ग्रामीमा अवार्ड मात्रै जितिनन्। इतिहास नै रच्न सफल भइन्। ग्रामी अवार्ड जित्ने उनी पहिलो पाकिस्तानकी महिला हुन्। साथै मनोनयनमा पर्ने समेत। उनी बेस्ट न्यु आर्टिस्ट विधाको मनोनयनमा समेत परेकी थिइन्।

आरूज ग्रामी अवार्ड विजेता बनेसँगै पाकिस्तानी कलाकारहरूले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन्। साथै, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा चुलिएको छ।

साँगीतिक करियरको सुरुवात

साउदी अरबमा जन्मिएकी हुन अरुज अफताब। पछि उनी आमाबुवासँगै पाकिस्तानको लाहोर शहर आइन्। त्यसपछि नै हो उनको साँगीतिक करियर सुरू भएको। उनले चर्चित कलाकारका कभर गीत गाउन थालिन्। गीत अरूको भएपनि शैली भने आफ्नै हुन्थ्यो।

१८ वर्षको उमेरमा 'हलिलोया' र आमिर जाकीको 'मेरा प्यार' कभर गीत गाइन्। ति दुई गीतले उनलाई रातारात ‘भाइरल’ बनाइदियो। त्यही चर्चाले उनलाई प्रोत्साहन दियो। बाल्यकालदेखि नै शास्त्रीय संगीत, गज़ल र कव्वालीसँग झुकाव थियो उनको। ९० को दशकमा लाहौरमा उनका सबै साथी र आफन्तहरू उस्ताद नुसरत फतेह अली खानबाट प्रभावित थिए। उनका दुर्लभ रेकर्डिङहरू निकै सोखले सुन्थे।

अमेरिकाको बर्कले कलेजबाट ‘म्यूजिक प्रोडक्सन एन्ड इन्जिनियरिङ’ पढ्ने क्रममा उनी न्यूयोर्क पुगिन्। सन् २०१० मा न्युयोर्कमा सुफी संगीत आयोजना गरिएको थियो। त्यसपछि अरुजलाई थाहा भयो,‘सूफी संगीतकी मल्लिका’ आबिदा परवीनले पनि त्यहाँ प्रस्तुति दिनेछिन्।

थाहा पाउने बित्तिकै उनले आबिदाको होटलको कोठा नम्बर पत्ता लगाइन्। र, निमन्त्रणा बिना नै आबिदाको ढोका ढकढकाइन्। त्यसपछि आबिदाले उनको हात समातिन् र कोठामा लगिन्। किनकी आबिदाले अरूज आफताबलाई अडिसनमा देखेकी थिइन्। दुवैले हार्मोनियममा सँगै गीत गाउन थाले।

अरूजले आबिदा परवीनलाई सोधिन्, 'मैले मेरो जीवनमा के गर्नुपर्छ ? आबिदा परवीनले जवाफ दिइन्,'मेरो एल्बम सुन्नुहोस्?

अरुजले आफू जीवनमा उर्दू कविताबाट धेरै प्रभावित भएको स्वीकार्छिन्। उनी आफ्नो संगीतलाई ‘न्यू सुफी सेमी-पाकिस्तानी क्लासिकल’ भन्न रूचाउँछिन्।

ओबामा पनि उनका फ्यान

ग्रामीमा मनोनयनपछि अरुजलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भइरहेका छन्। धेरैजसोले उनलाई बधाई दिइरहेका छन् भने कतिपय उनको संगीतबाट खासै प्रभावित नभएको धारणा राखिरहेका छन्।

पाकिस्तानी कलाकारलाई अन्तर्राष्ट्रिय ख्याति पाएपछि मात्रै प्रशंसा गरिन्छ आरोप पनि लाग्ने गर्छ। तर अरुज यसअघि पनि सांगीतिक क्षेत्रमा नजरमा आइसकेकी थिइन्।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि उनका फ्यान थिए। ओबामाले उनको गीत 'मोहब्बत' समर २०२१ को प्लेलिस्टमा समावेश गरेका थिए। हाफिज होशियारपुरीको गजलमा आधारित यो गीत अरुजका हिट गीतहरू मध्ये एक हो। जसलाई यसअघि मेहदी हसनले गाएका थिए। जसकारण उनलाई सामाजिक प्रयोगकर्ताले व्यंग्यात्मक गर्दैँ लेखिरहेका छन् : ‘एक आदर्श संसारमा मेहदी हसनले ग्रामी पाउनुपर्थ्यो।'

सन् २०२० मा अरुजलाई स्टडिङ एकेडेमी अवार्ड पनि दिइएको थियो।

अरूज बाल्यकालदेखि नै आफूलाई अरुभन्दा फरक ठान्थिन्। उनका बाबुआमाले पनि संगीतलाई धेरै मन पराउन्थे। उनी संगीत शिक्षा लिन चाहन्थिन्, जसका लागि उनलाई लाहोरबाट धेरै टाढा जानुपर्ने हुन्थ्यो। जुन निकै महँगो पर्थ्यो।

'मलाई के गर्ने थाहा थिएन भने एक पटक म एउटा गीत सुन्दै थिएँ र मैले मनबाट पनि गाउन सक्छु भन्ने निर्णय गरें। किनकी म संसारबाट दिक्क भएकी थिएँ' उनले भनेकी थिइन्।

जसको कारण थियो : उनको भाई र एक नजिकको साथीको मृत्यु। भाइ र साथीको मृत्युले उनको जीवन र संगीतमा गहिरो प्रभाव पारेको समेत उनले बताइन्।

बीबीसी हिन्दीबाट भावनुवाद 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell