
काठमाडौं : मंगलवार विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उत्रिएका यात्रुमध्ये २४ जना नियन्त्रणमा परे। १२ बजेसम्म २४ जनालाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका थिए।
उनीहरूलाई नियन्त्रणमा लिनुको कारण उनीहरूले विदेशबाट ल्याएको सुन नै थियो। २४ जनाबाट मध्यदिनसम्म ९ सय ९९ ग्राम सुन बरामद गरिसकिएको थियो।
भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोगका लागि ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्। यस्तै, उक्त ऐन अनुसार ५० ग्राम भन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार शुल्क बुझाएर जाँच पास गर्न सकिने व्यवस्था छ। त्यसभन्दा धेरै ल्याएमा भने जफत हुने व्यवस्था हुन्छ।
व्यक्तिगत प्रयोगका गहनाबाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने व्यवस्था छ। त्यसभन्दा धेरै ल्याएमा बढी परिमाण जति जफत हुन्छ। त्यही क्रममा तोकेको भन्दा बढी परिमाणमा सुन ल्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
त्यसो त अहिले विमानस्थलबाट बढी परिमाणमा सुन ल्याउने दैनिक औसत ३० जना भन्सार कार्यालयको कारबाहीमा पर्ने गरेका छन्। त्रिभुवन विमानस्थलबाट दैनिक औसत ४ हजार यात्रु नेपाल भित्रिने गरेका छन्।
चैत्र २१ गते पनि भन्सार कार्यालयले २७ जना यात्रुलाई तोकेको भन्दा बढी सुन ल्याएको भन्दै नियन्त्रणमा लिएको थियो। केही महिनाको तुलनामा विदेशबाट व्यक्तिगत रूपमा सुन आउने परिमाण घटेको छ।
गत मंसिरमा भन्सार कार्यालयले एकै दिनमा २० केजी सम्म सुन बरामद गरेको थियो। त्यसपछि औषत ३ किलोसम्म सुन आउने गरेको देखिएको थियो। तर, अहिले विदेशबाट फर्किनेले ल्याउने सुनको परिमाण घटेको छ।
‘तोकेको भन्दा बढी सुन ल्याउनेलाई हामी राजस्व तिराउँछौँ र जफत गर्ने परिमाणमा सुन ल्याए जाफत पनि हुन्छ। अहिले दैनिक औसत ३० जना कारबाहीमा पर्ने गरेका छन्,’ त्रिभुवन भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने।
सुन आयातका लागि मुलुकमा मौज्दात विदेशी मुद्रा बाहिरिएपछि राष्ट्र बैङ्कले सुन आयात गर्ने कोटा घटाएको हो। राष्ट्र बैंकले दैनिक कोटा आधाले घटाएको जानकारी दियो।
यसअघि व्यवसायीले दैनिक २० किलो सुन ल्याउन पाउँथे। अहिले १० किलो मात्र आयात गर्न कोटा तोकिएको हो। यसरी कोटा घटाउँदा बजारको सुनको माग थेग्न तस्करीको बाटोबाट सुन भित्रिने हो की भनेर पनि अहिले भन्सार कार्यालयले सुरक्षा कडा बनाएको जानकारी दिएको छ।
तस्करीबाट छिर्ने सुनको परिमाण पनि प्रहरीले बरामद गरेको रेकर्ड अनुसार बढेको देखिँदैन। चैत्र २० गते विमानस्थलबाट ३० जनाबाट १ किलो २ सय ७० ग्राम सुन बरामद गरिएको थियो। चैत्र १९ गते पनि २७ जनाबाट करिब १ किलो सुन बरामद भयो।
ऐनअनुसार ५० ग्रामभन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँच पास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याए जफत हुन्छ।
५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति दश ग्राम १० हजार रुपैयाँका दरले तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।
व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याए त्यस्तो बढी परिमाण जफत गरिने नियममा रहेको छ। यसरी ल्याएको १ सय ग्राम सुनमा पहिलो ५० ग्राममा प्रति दश ग्राममा ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ। अर्थात, १ सय ग्राम सुनमा १ लाख रुपैयाँ तिर्नुपर्छ।
कुनै समयमा साढे २ किलो भन्दा बढी व्यक्तिगत सुन भित्रिने गरेको थियो। तर, अहिले यो संख्या १ देखि २ किलोको बिचमा समिति भएको छ।