
रसिया र युक्रेनबिचको युद्ध भएको आज ४१ दिन पुगेको छ। रसियाले दुई युक्रेनी विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्ध अहिले पनि जारी छ। युक्रेनले रसियाली सेनाले बुचा शहरमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएको छ।
सडकमा मृत शरीरसहितको दृश्यहरु सार्वजनिक भएपछि अहिले रसियाको आलोचना भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा ‘नरसंहार’ को भिडियो देखाएका थिए। रसियाले भने युक्रेनको आरोपलाई ‘प्रोपागान्डा’ भनेको छ। रसियामाथि पश्चिमा राष्ट्रहरुले थुप्रै प्रतिबन्ध लगाएका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धि मामिला हेर्ने निकायका अनुसार युद्धका कारण ४२ लाख भन्दा बढीले युक्रेन छाडेका छन्। धेरैजना पोल्याण्डमा शरण लिन पुगेका छन्।
सार्वजनिक तथ्यांकका अनुसार पोल्याण्डमा मात्र २४ लाख ५१ हजार ३४२ जना प्रवेश गरेका छन्। ६ लाख ४३ हजार ५८ जना रोमानिया, ३ लाख ९४ हजार ७४० जना मोलडोभा, ३ लाख ५० हजार ६३२ जना हंगेरी, ३ लाख १ हजार ४०५ जना स्लोभाकिया र १ लाख ५७ हजार २८१ जना बेलारुसमा शरण लिन पुगेका छन्।
यस्तै, युक्रेनबाट ३ लाख ५० हजार ६३२ जना रसिया पलायन भएका छन्। यी देशहरुमा प्रवेश गर्नेमा धेरैजसो महिला र बालबालिकाहरु छन्।
१८ वर्षदेखि ६० वर्षका पुरुषहरुलाई युक्रेन छाड्न प्रतिबन्ध लगाइएको छ। उनीहरुलाई त्यहीँ रहेर युद्धमा साथ दिन भनिएको छ। यद्यपि, कयौँ महिला पनि युक्रेनमा युद्धमा सहभागी भइरहेका छन्।
रसियाले युक्रेनमा गरिरहेको आक्रमणको विरोधमा अहिले विश्वका कयौँ शहरमा प्रदर्शन भइरहेको छ। विश्वका करिब १५० शहरमा रसियाविरुद्ध प्रदर्शन भइरहेको छ। यस्तै, रसियाकै करिब ५० शहरमा पनि युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहेको छ।
दुवै देशबिच विभिन्न चरणमा वार्ता भए पनि कुनै निकास निस्किन सकेको छैन। युक्रेनले आफ्नो भूमिबाट रसियाली सेना फिर्ता हुनुपर्ने माग गरिरहेको छ। रसियाले भने युक्रेनलाई दुई विद्रोह क्षेत्रलाई दिइएको मान्यता युक्रेनले स्वीकार्नुपर्ने र युक्रेनले नेटोको सदस्यता लिनु नहुने माग गरिरहेको छ। युक्रेनले भने आफूहरु नेटोमा प्रवेश गर्ने बताइरहेको छ तर नेटोले भने अहिले नै युक्रेनलाई सदस्यता नदिने भएको छ।
दुवै समूहले अपेक्षा गरेको भन्दा युद्धको अवधि बढ्दै जाँदा दुवै तर्फबाट हजारौँको संख्यामा सेनाको मृत्यु भएको दाबी गरिएको छ। यस्तै, सयौँ सैन्य उपकरण पनि नष्ट गरिएको दाबी गरिएको छ।
युक्रेनले ९ हजार भन्दा बढी रसियाली सेनाको मृत्यु भएको र १६ हजार भन्दा बढी घाइते भएको बताएको छ। रसियाले करिब १ हजार ५०० को मृत्यु भएको र ४ हजार भन्दा बढी घाइते भएको जनाएको छ। दुवै तर्फबाट सार्वजनिक गरिएको संख्याको स्वतन्त्र पुष्टि हुन सकेको छैन।