PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दीर्घ रोगीहरुले ५ हजार रुपैयाँ उपचार खर्च पालिकाबाटै पाउने



पहिलोपोस्ट

दीर्घ रोगीहरुले ५ हजार रुपैयाँ उपचार खर्च पालिकाबाटै पाउने

काठमाडौं : सरकारले दीर्घ रोगीहरुलाई दिने भनेको उपचार खर्च आफ्नै पालिकाबाट पाउने भएका छन्। सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेको थियो।

त्यसपछि सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरुको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिए।

‘चैत्र १३ गते मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु, डायलाइसिस गराइराख्नु परेका व्यक्तिहरु, क्यान्सर समस्या भएका व्यक्तिहरु र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक रुपमा पाँच हजार रुपैयाँ उपचार खर्च वापत सरकारले उपलब्ध गराउने भनेर त्यसको कार्यविधि स्वीकृत भएको हो। कार्यविधि स्वीकृत भएर आइसकेपछि हरेक स्थानीय तहहरुले यस किसिमका बिरामीहरुको लगतहरु संकलन गर्नका लागि स्थानीय वडाहरुलाई परिचालन गर्ने र स्थानीय वडाहरुबाट यस्ता व्यक्तिहरुको लगतहरु संकलन हुने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसरी लगत सिर्जित भइसकेपछि उहाँहरुको व्यक्तिगत खाता, उहाँहरुको सबै विवरणहरु तयार भइसकेपछि स्थानीय तहहरुले प्रत्येक तीन महिनामा उहाँहरुको खातामा पाँच हजारको दरले तीन महिनाको रकम उपलब्ध गराउनुहुन्छ।’

उपचार खर्च बापतको सो रकम पहिले नै पेन्सन पाइराखेकाहरुले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भएपनि उपचार बापतको सो रकम पाउने उनले बताए।

उनले स्वास्थ्य बीमाको सेवाग्राहीको रुपमा सुचीकृत भएकाहरुले पनि सो रकम पाउने बताए। सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell