PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

जिल्ला अझै केन्द्रबाटै चल्छ, स्थानीय तहलाई बलियो बनाएमात्रै प्रशासनतन्त्र बलियो बन्छ : प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

जिल्ला अझै केन्द्रबाटै चल्छ, स्थानीय तहलाई बलियो बनाएमात्रै प्रशासनतन्त्र बलियो बन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई अधिकार सहित बलियो बनाउनु पर्ने बताएका छन्। बुधवार राजधानीमा आयोजित संघीयतामा नेपालको सार्वजनिक प्रशासन सम्बन्धित पुस्तक लोकार्पण समारोहमा उनले संघीयतलाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताएका हुन्। त्यसका लागि स्थानीय तह पनि बलियो हुनुपर्ने उनको मत छ।

उनले अझै केन्द्रबाट स्थानीय तहमा नियुक्त हुने गरेको उदाहरण दिँदै संघीयता बलियो र प्रभावकारी बनाउन पुस्तक लेखेरमात्रै नहुने बताए।

‘संविधान जारी भइसकेपछि सबै कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भन्ने कुरा उठ्यो। समायोजनको प्रक्रिया पनि प्रारम्भ भयो। छलफल गर्दै जाँदा सबैभन्दा पहिला समायोजन हुनुपर्ने त शिक्षकहरु देखियो। किनभने स्थानीय तहलाई सबैभन्दा बढी अधिकार दिएको क्षेत्र शिक्षा क्षेत्र थियो,’ थपलियाले भने, ‘सम्बन्धित मन्त्रालयसँग कुराकानी गर्दा संविधानमा कर्मचारीको समायोजन लेखियो। शिक्षकको नलेखिएको हुनाले गरिरहनु पर्दैन भन्ने निष्कर्ष निस्किएको थियो। अझै पनि ताप्लेजुङको शिक्षक काठमाडौंबाट नै नियुक्ति र सरुवा हुने प्रणालीभित्र हामी संघीयतामा सार्वजनिक प्रशासन खोज्छौं भने जति किताब लेखिए पनि भेटिँदैन।’

उनले नेपाल संघीय संरचनामा गए पनि सार्वजनिक प्रशासन केन्द्र निर्देशित र केन्द्र नियन्त्रित शासन व्यवस्था रहेसम्म सार्वजनिक प्रशासन क्षेत्र र स्थानीय तह बलियो नहुने बताए।

त्यस्तै महालेखा परीक्षक टंकमणि शर्माले संघीयतामा जाँदा अधिकांश स्थानमा अधिकार राजनीतिक नेताहरुले लिने गरेको बताए। शर्माले नेपालमा ७० प्रतिशत कर्मचारीहरु काम नगर्ने रहेको अध्ययनले निष्कर्ष निकालेको भन्दै यसमा सरकारले गम्भीर हुनुपर्ने बेला आएको बताए।

‘सार्वजनिक प्रशासन हामीले सामान्य रुपमा पहिले सोचिरहेको भन्दा संघीयतामा अलि फरक जाँदो रहेछ । सार्वजनिक प्रशासन भन्नेबित्तिकै ब्यूरोकेशीले काम गर्छ, निजामति सेवा हुन्छ, सरकारी संयन्त्रहरु परिचालित हुन्छ। त्यस्तो मात्रै होइन, अहिले हेर्दै जाँदा धेरैजसो अधिकार र डे टू डे एजुकेटिभ फंग्शनहरु पोलिटिकल लिडरहरुले गरिरहेका छन्,’ उनले भने।

त्यस्तै पूर्व मुख्यसचिव डा. विमल कोईरालाले कुनै पनि राजनीतिक दल संघीयताप्रति समर्पित नरहेको आरोप लगाए। देश संघीयतामा गयो भन्ने कुरा नारामा मात्रै सिमित भएको र अझै पनि राजनीतिक दलका नेताहरुको मानसिकता केन्द्रिकृत रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell