PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे



पहिलोपोस्ट

कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्।

घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्।

'एक दुई दिन समस्या थियो। अहिले समस्या हटेको छ। बेलुकी केही समय एक-दुई घण्टा प्रसारणलाइनका कारण लोड घटाउनु परेको छ। ती स्थानमा एलडीसीले पहिले नै जानकारी दिन्छ,' उनले भने,'यो एकैपटक आएको समस्या हो। ट्रान्सफर्मर बिग्रियो भने त्यसलाई रिप्लेस गरुन्जेलसम्म त विद्युत जान्छ नी।'

हिउँदमा भारतबाट करिब २५ प्रतिशत आयात गरेर विद्युत व्यवस्थापन भैरहेको उनको भनाइ छ। आवश्यकता अनुसार दुई सयदेखि चार सय मेगावाटसम्म आयात हुने गरेको उनको जिकिर छ। हिउँदमा बिजुली आयात गर्नुपर्ने भए पनि बर्खामा बेच्नुपर्ने अवस्थामा पुगिसकेको उनी बताउँछन्।

'बर्खामा २१ सय मेगावाट उत्पादन क्षमता पुगिसकेको छ। यो आर्थिक वर्ष थप २ सय मेगावाट विद्युत प्रणालीमा थपिएर बर्खाको उत्पादन क्षमता २३ सय मेगावाट पुग्ने निश्चित छ,' घिसिङले भने, 'हाम्रो अहिले पिक डिमाण्ड १७ सय मेगावाट पुगेको छ। बर्खामा १९ सय मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ। प्रक्षेपण अनुरुप नै भए आगामी बर्खामा करिब ४ सयदेखि ५ सय मेगावाटसम्म विद्युत सरप्लस हुने अवस्था छ।'

यसैबिच, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि बर्खामा सरप्लस हुने ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति नेपालले पाएको छ। सोही कारण बर्खाको बिजुली पनि लगभग खेर नजाने अवस्था रहेको दाबी उनको छ।

भारतले मर्स्याङदी (६७ मेगावाट), मध्य मर्स्याङदी (६८ मेगावाट), त्रिशुली (२३.२८ मेगावाट), देवीघाट (१४.५५ मेगावाट), कालीगण्डकी ए (१४० मेगावाट), लिखु ४ (५१ मेगावाट) लगायतका आयोजनाको विद्युत भारत लैजानका लागि अनुमति दिएको हो। यसबाहेक अरु आयोजनाहरु पनि पाइपलाइनमा रहेको घिसिङले बताए।

भारतले आयोजना खुलाएर मात्र विद्युत व्यापारको अनुमति दिएको हो। ऊर्जा आपूर्ति योजनाका लागि पनि भारतले नेपालले दिने भनेको बिजुलीको सुनिश्चितताका लागि त्यसको स्रोत अर्थात् कुन आयोजनाबाट कति दिने हो भन्ने जानकारी खोजेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell