PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

लागू औषध प्रयोगकर्ता बढ्दा अवैध कारोबार र अपराधिक घटना पनि बढ्यो : गृह मन्त्रालय



पहिलोपोस्ट

लागू औषध प्रयोगकर्ता बढ्दा अवैध कारोबार र अपराधिक घटना पनि बढ्यो : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले देशभर लागू औषध गम्भीर समस्याको रुपमा देखा पर्न थालेको बताएको छ। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन्।

लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको उनले बताए। पाण्डेले लागू औषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए।

‘पछिल्लो समय लागु औषधको पहुँच नरहेको ठाउँ नै रहेन। यसको सचेतना भएन। यो प्रयोग गर्दा भविष्यमा के हुन्छ ? भन्ने थाहा नै भएन। लागु औषधको व्यापारीहरुले टार्गेट गरेर समाजलाई विक्षिप्त र ध्वस्त नै बनाउने अवस्था सिर्जना भयो,’ उनले भने।

उनले लागू औषध गतिविधि नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए। सरकारले तीनै तहका सरकारी र गैर सरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने पनि उनले बताए।

‘सरकारले चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था भयो। प्रयोग गर्नेको संख्या बढ्दै गयो। त्यसले अपराधीकरण वृद्धि भयो। अवैध कारोबारलाई प्रोत्सहन दियो। लागू औषध मार्फत अवैध कमाइ गर्नेहरु सक्रिय भए। युवा जनशक्तिको सिर्जनाशीलतालाई यसले ध्वस्त पारेको छ,’ उनले भने।

गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको बताए। उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए। लागू औषध प्रयोगकर्ताहरुको संख्या वार्षिक ५.०६ प्रतिशतले वृद्धि भइरहेको उनले बताए। त्यस्तै हाल कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागू औषधकै मुद्दाको रहेको उपाध्यायले बताए।

‘कुल अपराधमा यसको हिस्सा हेर्ने हो भने ९ प्रतिशत रहेको छ,’ उपाध्यायले भने।

नेपालमा लागू औषध कारोबारमा २०७७-०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरुमा ३ हजार १३ जनालाई मुद्दा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरु रहेको मन्त्रालयले जनाएको छ। लागू औषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell