PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

माओवादीले भूमिहीनलाई भूमिपति बनाउन गरेको संघर्ष चितवनबाट सार्थक भयो : प्रचण्ड



पहिलोपोस्ट

माओवादीले भूमिहीनलाई भूमिपति बनाउन गरेको संघर्ष चितवनबाट सार्थक भयो : प्रचण्ड
FILE PHOTO

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन्। चितवनमा आयोजित भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए।

दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिबिच बनेको गठबन्धन सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए।

उनले भने, ‘सबै आ-आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन।’

वर्षौदेखि माओवादीले भूमिहीन समुदायलाई भूमिपति बनाउने संघर्षको सार्थकरूपको आज चितवनको भरतपुरबाट सुरू भएको उनको भनाइ थियो। विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको भन्दै उनले भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह पनि गरे।

उक्त कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताइन्। श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताइन्।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूवात भरतपुरबाटै सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको वाचा पूरा गर्ने प्रक्रियाको सुरुवात भएको बताइन्।

सो अवसरमा भरतपुर महानगरपालिका-२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको थियो। सो क्षेत्रमा ६९७ जना भूमिहीन छन्। तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन्। एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell