PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

दुर्गमका विद्यालयः न शिक्षक न त छन् विद्यार्थी



निशा गुरुङ

दुर्गमका विद्यालयः न शिक्षक न त छन् विद्यार्थी

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका ५ स्थित जलेश्वर प्राथमिक विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन्। भौगोलिक हिसाबमा वडाको सबैभन्दा माथि डाँडामा रहेको विद्यालयमा शिक्षक नहुँदा एउटै कक्षामा बहुकक्षा गरेर पढाइन्छ। विद्यालयमा १, २ र ५ कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर  पढाउनुपर्ने अवस्था छ।

विद्यार्थी पनि कम र शिक्षक पनि नहुँदा यस्तो अवस्था आएको विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बताए। टोलमा जनसंख्या नै कम भएको र बसाईँ सर्ने क्रम हुँदा विद्यार्थी भर्नामै कम हुने गरेको देवकोटाले बताए।

कक्षा ५ सम्म पढिसकेपछि भीमफेदी गाउँपालिकाका महेन्द्र माविमा पढ्न जानुपर्ने अवस्था आएको उनले बताए। विद्यालय टाँढा हुँदा कतिपय विद्यार्थी विद्यालय छाड्नुपर्ने अवस्था आएको देवकोटा बताउँछन्। विद्यालय अन्यत्र गाभिँदा झनै भौगोलिक हिसाबले बालबालिकालाई असहज हुने देवकोटा बताउँछन्।

वडा नम्बर ५ कै अर्को गोरखनाथ विद्यालयको पनि अवस्था उही छ। १५ जना विद्यार्थी भएको विद्यालयमा पनि एउटैमा बहुकक्षा राख्नुपर्ने अवस्था छ।

२ र ३ कक्षा एउटै कोठामा पढाउँदा समेत जम्मा विद्यार्थी ५ जनामात्र छन्। ४ र ५ कक्षामा पनि एकै ठाउँमा पढाउँदा जम्मा ६ जना विद्यार्थी छन्। विद्यालयमा जम्मा २ जना शिक्षक दरबन्दी भएकोले एउटै कक्षामा बहुकक्षा पढाउनुपर्ने अवस्था आएको प्रधानाध्यापक लोकबहादुर थापा मगरले बताए।

विकट गाउँ भएकोले सबै बसाइँसराइ जाँदा विद्यार्थी नभएको थापाले बताए। गोरखनाथका विद्यार्थी पनि ५ कक्षा पढिसकेपछि महेन्द्र मावि वा महालक्ष्मी मावि पढ्न जानुपर्ने बाध्यता छ।

५ नम्बर वडामा ५ विद्यालय छन्। जसमा मावि एउटामात्र छ।

विद्यार्थी नभए पनि एकापसमा मर्ज गर्नु समस्याको समाधान नभएको वडाध्यक्ष जहारसिं लामाले बताए। गाउँपालिकाले विद्यालयलाई बस सहयोग गरे पनि बाटोको समस्याले विद्यार्थी घण्टौँसम्म हिँडेर विद्यालय जानुपर्ने अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell