काठमाडौं : तीन वर्ष भयो अनमोल केसीलाई दर्शकले ठूलो पर्दामा नदेखेको। ‘ए मेरो हजुर ३’ मा सुहाना थापासँग स्क्रिन सेयर गरेका थिए अनमोलले।
यसबिच उनले केही चलचित्र ‘साइन’ पनि गरे। तर कोरोना महामारीका कारण उनी अनुबन्धित बनेको चलचित्र ‘फ्लोर’मा उत्रिन सकेन।
कोरोनाकै कारण सुहानासँग अभिनय गरेको ‘ए मेरो हजुर ४’ को रिलिज मिति पनि धकेलिँदै गयो। जसकारण लामो समयसम्म उनी सिनेमाबाट हराए।
केही विज्ञापन बाहेक न त उनी म्यूजिक भिडियोमा देखिए न त टिकटक जस्ता सामाजिक संजालमा नै आए। फिल्मी सुटिङ बाहेक अन्य गतिबिधिबाट टाढै रहेर गुमनाम बनेका उनै अनमोल नयाँ वर्ष २०७९ वैशाख १ गते नयाँ फिल्म लिएर ठूलो पर्दामा फर्किँदैछन्।
९ वर्षे फिल्मी करियरमा यो फिल्मलाई नयाँ मोड मान्ने ‘मेघास्टार’ को उपमा पाएका २८ वर्षीय अनमोललाई पहिलोपोस्टकी संवाददाता लक्ष्मी बलायरले सोधिन् :
तीन वर्षपछि ठूलो पर्दामा फर्किँदै हुनुहुन्छ। तर धेरैको आरोप छ : अनमोलको फिल्म ‘गुड लुक’ले चलेको हो। के फिल्म चल्न राम्रो अनुहार भए पुग्छ र?
तीनवर्षपछि फाइनली मेरो फिल्म रिलिज हुँदैछ। निकै उत्साहित छु तर हल्का नर्भस पनि छु।
कोरोना महामारीले गर्दा धेरै अवस्था परिवर्तन भएको छ। यसबिच अनलाइन फिल्ममा दर्शकहरूले धेरै फिल्म हेरिसके। उहाँहरूको फिल्मलाई हेर्न दृष्टिकोण पनि फरक भइसकेको छ। चुनौती पनि थपिएको छ।
रह्यो 'गुड लुक' को कुरा। त्यो मेरो लागि प्लस प्वाइन्ट हो। तर गुड लुकले मात्रै फिल्म चल्नलाई फिल्म म्यागेजिनको कभर होइन।
फिल्ममा २ घन्टासम्म अडियन्सलाई बाध्न सक्नुपर्छ। मेरो पोस्टर मात्रै देखेर अडियन्स फिल्म हेर्न जान्छन् जस्तो लाग्दैन। एउटा कलाकार चल्नलाई अभिनय चाहिन्छ। गुड लुक त सेकेन्डरी कुरा हो।
तर, बेला-बेला तपाईको अभिनय राम्रो छैन भन्ने आरोप लाग्छ नि?
मैले राम्रो अभिनय गर्न जहिल्यै कोसिस गरिरहेको हुन्छु। थिएटर देखि अभिनय प्रशिक्षण लिइरहेको हुन्छु। किताबहरू पढिरहेको हुन्छु। तर, आफूले गर्ने जति गरिरहँदा पनि केही व्यक्तिहरूले मेरो अभिनय नराम्रो भन्नु हुन्छ।
खासमा परफेक्ट कोही पनि हुँदैन। यो समाजमा हरेक कलाकारका शतप्रतिशत फ्यान हुन्छन् भन्ने हुँदैन। मानिसले भगवानको त आलोचना गर्छन्। म त मान्छे न हो। म परफेक्ट त हुन सक्दिँन। त्यो नेगेटिभ चिजले मलाई असर गर्दैँन।
आलोचकहरूलाई म धन्यवाद नै भन्छु। फ्यान त सधैँ फ्यान नै हुन्छन्। तर, हेटरहरूमार्फत मैले आफ्नो गल्ति देख्ने मौका पाउँछु। त्यो हिसाबले केही फरक पर्दैन। त्यसले झन उर्जा दिन्छ। हामीले अडियन्सको लागि फिल्म बनाएपछि मन पराए पनि नपराएपनि स्विकार्नुपर्छ। दर्शकहरू जहिले पनि सही हुनुहुन्छ।
सधैं 'लभर ब्वाइ' को भूमिकामा मात्रै देखिनु हुन्छ, अरु भूमिकामा फिट कहिले हुने?
फरक भूमिका गर्नलाई म अझै पनि तयार भएको छैन। अहिलेसम्म मलाई दर्शकले जे चिजमा रूचाउनु भएको छ त्यही गरिरहेको छु। पहिले आफू चिनिनु पनि पर्थ्यो नि। फरक भूमिका गर्दा अनमोल त यस्तो मान्छे हो भन्ने प्रभाव पनि पार्न सक्नुपर्छ। जुन प्रयास म गरिरहेको छु।
धेरै कलाकारले १०/२० फिल्महरू गरेपछि मात्रै फरक भूमिका गरेको छन्। आमिर खान, साहरूख खान लगायतका कलाकारले पछि मात्रै फरक भूमिका गर्नु भएको हो। भर्खर त २८ वर्ष पुरा भयो। म अहिले पनि त्यो लेबलको कलाकार बनेको छैन, जसले फरक फरक भूमिका गर्न सकोस्।
'स्टार किड' हुँदा फिल्म क्षेत्रमा गाह्रो हुँदैन भन्छन् नि?
मेरो बुवा यसै क्षेत्रमा हुनुहुन्छ। एकहिसाबले उहाँ भएका कारण मलाई फाइदा नै भएको छ। सुरूमा मलाई चिनिनको लागि सजिलो भएको थियो। तर सधैँ ‘नेपोटिजम’ले टिकेको भन्ने कुरा म मान्दिन।
पहिलो फिल्ममा बुवाको नामले सहयोग पुर्यायो होला। तर, आठौँ फिल्मसम्म आइपुग्दा बुवाकै नामले त काम गरेन होला नि? अहिलेसम्म जति पनि फिल्म सफल भए, सबै मेरो कडा मिहेनतको प्रतिफल हो।
बलिउड र नेपाली कलाकारका पनि छोराछोरी यस क्षेत्रमा आएका छन्। तर सबै सफल भएका त छैनन् नि। अडियन्सले पनि हाम्रो अभिनयलाई मन पराउनुपर्छ। हरेक समय म उहाँको छोरा हुँ भन्ने छुट हुन्छ जस्तो लाग्दैन।
काम गर्दा बुवाको नाम पनि जोडिन्छ। बुवाको इज्जत मेरो र मेरो इज्जत बुवाको हो। अहिले म बुवाको भन्दा आफ्नै इमेज बनाउनमा जोड दिइरहेको छु। उहाँ पनि मेरो करियरमा जोड दिनुहुन्छ। घरमा जाँदा पनि हाम्रो फिल्मकै बारेमा कुरा हुन्छ। फिल्ममा म हिरो मात्र नभएर मेरो परिवारको अस्तित्व जोडिएको छ।
यी कुराहरूलाई मनमा राखेर म अगाडि बढ्छु। मैले यही क्षेत्रलाई बचाउन सकिनँ भने मेरो परिवारको अस्तित्व नै मेटिन्छ। फिल्मबाहेक हाम्रो व्यवसाय अरू केही छैन। म जे छु यो फिल्म क्षेत्रले नै दिएको हो। यो क्षेत्रसँग मेरो भावनात्मक नाता छ। म सधैँ कसरी राम्रो गर्न सकिन्छ भन्नेबारेमा सोच्छु।
‘स्टार किड’ले संघर्ष नै गरेको हुन्न भन्ने आरोप लाग्ने गर्छ नि?
यो क्षेत्रमा लाग्न मैले वा बुवाले मात्रै चाहेर हुँदैन। आफूमा क्षमता नभएसम्म कोही पनि लामो समय जानै सक्दैन। म यो क्षेत्रमा आएकै ९ वर्ष भइसक्यो। मैले घरको फिल्म दुईवटा मात्रै गरेको छु।
मेरो बाँकी ६ वटा हिट फिल्म त बाहिरकै छन्। 'होस्टेल' र 'जेरी' हिट गरेपछि मात्रै मेरो बुवाले मलाई लिनुभएको हो। मेरो होमप्रोडक्सबाट डेब्यु भएकै छैन। जसले संघर्ष हुँदैन भन्ने कुरा व्यर्थ हो। यदि मसँग क्षमता हुदैन्थ्यो भने एक/दुई वर्षमै हराउनु पर्ने हो।
अहिले क्षमता देखाउनलाई फिल्ममै आउनुपर्छ भन्ने पनि छैन। आजभोलि धेरै प्याल्टफर्म छन्। सबैको हातहातमा फोन छ। सूर्यलाई हत्केलाले छेक्न सक्दैन नि। प्रतिभालाई सबैले कदर गर्छ आउनुहोस् सबैले देखाउनुहोस् म भन्दा राम्रो गर्नुहोस् म स्वागत गर्छु।
नेपालमा स्टार भ्यालुलाई कसरी लिनु भएको छ? स्टारडम पछिको व्यक्तिगत जीवन बिताउन कत्तिको गाह्रो हुन्छ?
गाह्रो हुँदैन् झन रमाइलो हुन्छ। जता जाँदा पनि दर्शकले चिन्नुहुन्छ। मसँग फोटो खिच्न आउँनुहुन्छ। जुन एक किसिमको माया हो। यदि कतै जाँदा कसैले चिनेन र माया गरेन भने त्यो नि के कलाकार। म दर्शकहरूको मायालाई तनावको रूपमा लिन्न। अब म विदेश जान नि सक्दिन होला। मलाई दर्शकको मायाको आदत परिसक्यो।
तर, कतिपय अवस्थामा भने गाह्रो हुँदो रहेछ। मलाई आफ्नो व्यक्तिगत समय निकै मन पर्छ। म रिल र रियलमा देखिनेमा फरक हुन्छु। मलाई धेरै फोटो खिच्न मन पर्दैन। टिकटक बनाउँन नि जान्दिन। कुनै बेला व्यक्तिगत काम हुन्छ। त्यस्तो बेला म बाहिर हिँड्दा नचिन्ने बनेर हिँड्न रूचाउँछु। किनकी त्यसबखत म आफू बन्न पाउँछु।
अहिले धेरैजसो कलाकारहरू युट्युव र टिकटकमै रमाइरहेका हुन्छन्। के यसले कलाकारको भ्यालु घटाएको हो?
यसमा सबैको आ-आफ्नै धारणा र दृष्टिकोण हुन्छ। सामाजिक संजाल कत्तिको प्रयोग गर्ने आफूमा भर पर्छ। कसैलाई यसले फाइदा पुर्याएको पनि हुनसक्छ। तर, मलाई भने मन पर्दैन। यस्तो प्ल्याटफर्ममा नआएको कारण म आफैँ हुँ। म सोसल मिडिया ह्यान्डल गर्न सक्दिन।
मेरो युट्युव र टिकटिक अकाउन्ट पनि छैन। वर्षमा एक फिल्म खेल्ने म युट्युव र टिकटक खोलेर मनोरञ्जन दिन सक्दिन। मलाई आफूले आफैलाई खिच्नै आउँदैन। म फिल्मको प्रचारप्रचार बाहेक सेल्फी वर्षमा एउटा हाल्छु होला। तर, क्रेज घट्छ भनेर नचलाएको भने होइन। म सक्दै सक्दिन। जुन चिज सकिदैन् त्यो नगर्दा नै ठिक हुन्छ।
अनमोल नेपालकै मंहगो पारिश्रमिक लिने हिरो हो?
यो बिल्कुल गलत कुरा हो। म कहिले पनि पैसाको पछि लाग्दिन। मैले कसैसँग पनि आजसम्म यति दिनु भनेकै छैन। सबै आफैँ यति दिने भनेर तोक्नुहुन्छ। सायद मैले पैसालाई प्राथमिकता नदिएर पैसा मेरो पछि लागेको होला।
यदि मैले पैसाको पछि लागेको भए आज म जति कोही बिजी हुँदैन्थ्यो होला। म मात्रा भन्दा गुणस्तरलाई प्राथमिकता दिन्छु। दर्शकले रुचाएपछि विश्वास दिलाउनु सक्नुपर्छ। कम फिल्म होस् तर उत्कृष्ट होस्।
ए मेरो हजुर ४ बाट दर्शकको विश्वास पाउनु हुन्छ?
मलाई मेरा दर्शकप्रति विश्वास छ। अहिलेसम्म मेरा अडियन्सले सबै फिल्म हेरेर माया गर्नु भएको छ। बाँकी फिल्मलाई लिएर आत्मविश्वास छ। पहिलेको भन्दा यस फिल्मको कथा बलियो छ। यो फिल्ममा लुकेको एउटा सोसल म्यासेज छ। युवापुस्ताको मनस्थितिलाई पनि समेटिएको छ।
अहिलेसम्म दर्शकहरूले मेरो फिल्म मन पराइदिनुभएको छ। मलाई मन पराउनेले यो फिल्म अवश्य हेर्नुहुन्छ। त्यसैगरि, सुहानाको आफ्नै क्रेज छ। झरना दिदीको पनि त्यस्तै छ। 'ए मेरो हजुर' दर्शकहरूले मन पराउँदै आएको सिरिज हो। रोमान्स र प्रेमले भरिएको यो मसालेदार फिल्म पक्कै दर्शकहरूले मन पराउनु हुनेछ।
निर्माता सुनिल कुमार थापाले भने झै यस फिल्ममा अनमोलको अभिनय बलियो नै हो?
पक्कै पनि उहाँले भनेको सही हो। म पहिलेको भन्दा दिनप्रतिदिन अपग्रेड भइरहेको हुन्छ। समयले पनि मानिसहलाई धेरै कुरा सिकाउँछ। आठौँ फिल्मसम्म आइपुग्दा मैले धेरै अनुभव बटुलिसकेको छु। यस फिल्ममा डान्सदेखि अभिनयमा निकै मेहेनत गरेको छु।
हुनत एउटा कलाकारले आफ्नो अभिनयको क्षमता सोचेर मात्रै हुँदैन। उसलाई त्यही अनुसारको कथा र निर्देशक पनि चाहिन्छ। यो फिल्ममा मलाई देखाउनलाई धेरै ठाउँ थियो। जसले पनि मैले आफूलाई निखार्न पाए।
धेरैले दक्षिण भारतीय फिल्म 'केजीएफ' सँग नजुधेको भए हुन्थ्यो भन्नुहुन्छ। तपाईहरूले 'केजीएफ' सँग जुधेर किन 'रिस्क' लिदैँ हुनुहुन्छ?
मलाई चुनौतीहरू मन पर्छन्। खालि पोस्टमा त जसले पनि गोल हान्छ नि। गोलकिपर भएको पोस्टमा गोल हान्न पो छुट्टै मजा। यो मेरो मात्रै फिल्म होइन हामी सबैको फिल्म हो। केजीएफसँगै यस फिल्मले थोरै नि राम्रो गर्न सक्यो भने सबैको लागि गुड न्युज हुन्छ। एकपटक भाग्यो भने जिन्दगीभर भागिन्छ। हामी नै भाग्यो भने नेपाली चलचित्र कता पुग्ला?
यही सिलसिलामा तपाईले विदेशको साटो नेपाली उत्पादनको प्रयोगमा जोड दिनु भइरहेको छ। तपाई चाँहि नेपाली उत्पादन कत्तिको प्रयोग गर्नुहुन्छ नि?
हैन, मैले सक्दो गर्नुपर्छ भन्न खोजेको हो। सबैमा व्यवहारिक रूपमा यो कुरा लागु नहुन पनि सक्छ। विदेशीलाई मात्रै प्राथमिकता दिनुहुन्न। नेपाली फिल्म, खाना र फिल्मलाई सधैँ प्राथमिकताहरू राख्नुपर्छ भन्न खोजेको।