रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ४२ औं दिन पुगेको छ। युद्धका कारण ४२ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ।
रसियाले सोचेको भन्दा धेरै समय युद्ध हुँदा रसियामाथि दबाब पनि बढिरहेको छ। पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धका कारण उसको आर्थिक अवस्था बिग्रिँदै गएको छ। रसियाभित्र नै युद्धको विपक्षमा प्रदर्शन भइरहेका छन्। बुचा शहरको सडकमा लाशहरु भेटिएको भिडियो सार्वजनिक भएपछि रसिया थप दबाबमा छ। युक्रेनले त्यसलाई 'नरसंहार' भन्दा रसियाले त्यसलाई 'प्रोपागान्डा'को संज्ञा दिएको छ।
यसबिच अमेरिकाले युक्रेनी राजधानी किभ र चेरनीहिभबाट रसियाली सेना फिर्ता भइसकेको दाबी गरेको छ। हाल रसिया डोनबास क्षेत्र नियन्त्रणमा लिने प्रयासमा रहेको युक्रेनले बताएको छ। डोनबास रसियाले स्वतन्त्र राज्य मान्यता दिएको विद्रोही क्षेत्र हो। युक्रेनी अधिकारीहरुले खार्किभ, लुहान्स्क र डोनबास क्षेत्रमा रहेकाहरुलाई अन्यत्र जान अपील गरेको छ।
युक्रेनलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न नेटोका विदेशमन्त्रीहरुको बैठक बस्ने तयारी भइरहेको छ। रसियामाथि थप प्रतिबन्ध लगाउने अमेरिका लगायत देशको तयारी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमीर पुटिनमाथि ‘आर्थिक दबाब’ सिर्जना गर्नुपर्ने बताइरहेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने रसियामाथि पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध अवुग भएको बताउँदै आएका छन्।