PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एमालेलाई गठबन्धनको र गठबन्धनलाई भागबन्डाको सकस



प्रकाश भण्डारी

एमालेलाई गठबन्धनको र गठबन्धनलाई भागबन्डाको सकस

काठमाडौं : सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका संस्थापन इतर नेताहरुदेखि नेकपा माओवादी केन्द्र आक्रोशित छ। गठबन्धनको पक्षमा नरहेका कांग्रेसका नेताको मतलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'अपमान'का रुपमा बुझेका छन्। 'कांग्रेसलाई सडकबाट सत्तामा पुर्‍याउन' आफूले खेलेको भूमिकालाई सम्झाइरहेका छन् प्रचण्ड, आफ्ना पछिल्ला अभिव्यक्ति मार्फत।

गठबन्धन लगातार चुनावी तालमेलको गृहकार्यमा जुटे पनि हालसम्म कुन स्थानीय तहमा कुन दललाई टिकट दिने भन्नेबारे टुंगोमा पुगिसकेको छैन। टिकट बाँडफाँडका लागि २०७४ सालमा भएको स्थानीय तहको चुनाव र पार्टीको स्थानीय आधार मान्ने गठबन्धनको तयारी छ।

गठबन्धनलाई सकस भागबन्डाको

२०७४ सालको चुनावमा नेकपा एमालेले जितेको २९४ ठाउँको टिकटलाई भागबन्डा गरेर बाँकी ठाउँ सम्बन्धित दललाई दिन प्रस्ताव गरेको माओवादी केन्द्र सबैभन्दा बढी लविङमा छ चितवनको भरतपुर महानगरको लागि।  आफ्नो प्रतिष्ठाकै विषय बनाएको छ माओवादी केन्द्रले चितवनलाई। प्रचण्ड पुत्री रेणु दाहालले फेरि पनि भरतपुर महानगरको मेयरमा दाबी गरिरहेकी छिन्। रेणुलाई २०७४ को चुनावमा कांग्रेसले सघाएको थियो। कांग्रेसका स्थानीय नेता कार्यकर्ताले हाल दाहालको दाबी र चुनावी तालमेललाई भने पचाउन सकिरहेका छैनन्।

कुन दललाई कति टिकट दिने? कुन ठाउँमा कसलाई उम्मेदवार बनाउने? यस्तै सवालहरुमा अल्झिरहेको छ गठबन्धन। कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वमा गठन भएको चुनाव तयारी तथा अनुगमन समितिले भागबन्डाको लफडा टुंग्याउने अधिकार पाएको छ। गठबन्धनको अवस्थाबारे २२ गते सम्मका लागि तोकिएको रिपोर्टिङको समय समितिको बुधवारको बैठकले चैत २६ गते सम्मका लागि थपेको थियो। चैत अन्तिमसम्म उम्मेद्वारको टुंगो लगाउने तयारीमा गठबन्धन छ।

एमालेलाई अप्ठेरो तालमेलको

गठबन्धन भागबन्डामा अल्झिँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चुनावी तालमेल र भागबन्डाको किचलोबाट अलग छैन। उसलाई सबैभन्दा सकस परिरहेको छ चुनावी तालमेलको। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी मोर्चा बनाउन गृहकार्यमा एमाले लागे पनि एकातिर राप्रपाको कमजोर जनाधार र अर्कोतिर सैद्धान्तिक भिन्नताले एमाले-राप्रपाको बलियो गठबन्धन बन्ने छैन। त्यसैले एमालेको नीति छ एक्लै चुनावमा जाने, तालमेलको ढोका पनि बन्द नगर्ने।

'मुलत: एमाले चुनावमा एक्लै जान्छ तर स्थानीय तहमा कुनै ठाउँ विषेशमा चुनावी तालमेल हुन पनि सक्छ। संसदीय चुनावमा एमाले कुनै पनि दलसँग तालमेल गर्दैन। किनभने सत्ता गठबन्धनले के कस्तो जनाधार प्राप्त गर्छ त्यसलाई हेरेर आउने चुनावहरुमा एमाले अघि बढ्छ,'एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने।

एमालेले चुनावी तामलेल नहुने बताइरहँदा ओली र राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणाबिच नेपालगंजमा चैत १७ गते चुनावी तालमेलबारे छलफल भएको थियो। उक्त वार्ता प्रारम्भीक भएको राणाले बताएका थिए।

एमालेले चुनाव केन्द्रित छलफल कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)सँग पनि गरिरहेको छ। तर, एमालेले तालमेलको मोडालिटी भने राप्रपा र राप्रपा नेपाल दुवैसँग बनाइसकेको छैन।

ओली किन कांग्रेसप्रति गरम प्रचण्डप्रति नरम?

एमाले अध्यक्ष ओलीले चुनावी तालमेल नहुने चैत ९ र १० गतेको केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई ब्रिफिङ गरेका थिए। ओली तालमेलको विपक्षमा कतिसम्म थिए भने उक्त बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले गरेको वाम एकता र चुनावी गठबन्धनको प्रस्तावलाई अस्वीकारनै गरिदिए।

तर, अधिकांश एमाले नेताहरुले पार्टी विभाजनका कारण एमालेलाई स्थानीय तहमा क्षति हुनसक्ने मत राख्न थाले। अनि ओली तालमेलबारे केही नरम देखिए।

ओली पछिल्लो समय कांग्रेसप्रति बढी आक्रामक हुँदा माओवादी प्रति केही नरम छन्। ओलीले कांग्रेसको लोकतान्त्रिक मान्यता कम्युनिस्टमाथि प्रतिबन्ध लगाउनु भएको आरोप लगाएका छन्। 'कांग्रेस सरकारमा छँदासम्म त कम्युनिस्ट कार्यकर्ता जेल पुगे। कम्युनिस्टलाई ४ वर्षसम्म प्रतिबन्ध। ९ साल, १० साल, ११ साल प्रतिबन्ध लाग्यो। टंकप्रसाद आचार्य आउनु भयो र प्रतिबन्ध खुलाउनुभयो। आचार्यको लोकतन्त्रको मान्यतालाई धन्यवाद दिनुपर्छ,' अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको कार्यक्रमा चैत १८ गते ओलीले भनेका थिए।

ओली कांग्रेसप्रति 'गरम' र माओवादी प्रति केही ‘नरम’ देखिदाँ एमाले र माओवादी वृतमा दोस्रो तहका नेताहरुबिच चुनावी तालमेलबारे संवाद भइरहेको चर्चा छ। जसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको लविङमा अस्त्र बनाइरहेका छन्।

'राजनीति भनेको सम्भावनाको खेल हो। नेपाली कांग्रेसका केही नेताहरु माओवादीसँग कुनै पनि हालतमा तालमेल हुन्न भन्नुभएको छ। कांग्रेसले लखेट्न नै थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न,'एमालेसँग सहकार्य हुनसक्नेबारे प्रचण्डले चैत ३ मा भनेका थिए। यद्यपि, सत्ता गठबन्धनप्रति देउवाले देखाएको लचकता र ओली-प्रचण्डको नेकपाकाल देखिको कटुतापूर्ण सम्बन्धका कारण तत्काल एमाले-माओवादी चुनावी मोर्चा बन्ने सम्भावना कम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell