PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै



रासस

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै
फाइल फोटो।

जलेश्वर : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइँदैछ।

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुशी नदी तथा नहरको किनारमा अर्घ्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ। सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापिठका प्राध्यापक ध्रुव रायले बताए।

सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। जलेश्वरनाथ महादेव मन्दिरका पूजारी कालिकान्त झाका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ। यस अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलवार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन्। त्यस्तै, पर्वको दोस्रो दिन बुधवार खर्ना मनाइएको थियो। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए।

त्यस्तै, तेस्रो दिन आज साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन्।

षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्।

अन्तिम दिन भोलि अर्थात् शुक्रवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन्। महाभारतका अनुसार द्रोपतीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए।

उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेको बताइन्छ। फलस्वरुप अनुसुइयाले अटल सौभाग्य तथा परिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूसँगसँगै मुस्लिमले पनि मनाउने गर्छन्। पर्वमा चढाइने पदार्थको संख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell