काठमाडौं : पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको छ। विद्युतीय स्कुटरदेखि विद्युतीय कारहरु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। शहरी क्षेत्रमा विद्युतीय स्कुटरको माग बढ्दै जाँदा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटरको अध्ययन गरेको छ। नास्टले नेपालको भूगोल सुहाउँदो विद्युतीय स्कुटरको ‘प्रोटोटाइप’ (नमूना) निर्माण गरेको छ।
प्रतिष्ठानका प्रविधि शंकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको विकास गरिएको बताए। प्रतिष्ठानले हाल प्रोटोटाइप (नमूना) निर्माण गरेको हो। यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ। सो कार्यका लागि लुम्बिनी प्रदेश सरकारले सहकार्य गरिरहेको छ।
प्रतिष्ठानले तयार पारेको विद्युतीय स्कुटर प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठ, लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीलगायतले आफै प्रयोग गरिसकेका छन्। प्रतिष्ठानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालयलाई समेत सो स्कुटरका बारेमा जानकारी गराइसकेको छ। केही दिनभित्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
प्रतिष्ठानको परिसरमा नै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ। हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने बारेमा तयारी भइरहेको ढकालले जानकारी दिए। नेपालमा नै उत्पादनका लागि सहयोग पुर्याउन उद्देश्यका साथ जनशक्तिसमेत तयार भएको छ। प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो। एउटा स्कुटर बनाउन प्रतिष्ठानले तीन लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ। ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिन्छ। सबै सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले केही महँगो भने हुन जाने प्रतिष्ठानको बुझाइ छ।
नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना नै स्थापना गरेर स्कुटर उत्पादन गर्न चाहनेलाई मार्ग प्रशस्त गरिएको छ। प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ। ब्याट्रीको क्षमता बढाउन सकिन्छ। हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्न सक्छ। ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ।
प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहेका ढकाल सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम गर्नुपर्ने बताउँछन्। नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने उनको भनाइ छ। प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिकोसमेत विकास गरेको छ। रासस