PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फोहोर थुप्रिएर बेइज्जत भइसक्यो, काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

फोहोर थुप्रिएर बेइज्जत भइसक्यो, काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्। बिहीवार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान संचालनको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। पछिल्लो समय ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न अवरोध हुँदा काठमाडौंको फोहोर उठ्न सकेको छैन। उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनु भयो।

‘फोहोर व्यवस्थापनको कुरा उठेको छ। यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ। म केही दिनअघि धरान गएको थिएँ। त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए,’ उनले भने ‘त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले। त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ। यो काम नेपाल आफैँले गर्नसक्छ।’

उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए। देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा विदेशी कम्पनी पनि लगानी गर्न तयार रहेको बताए।

‘विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन्। काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ। यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो। काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ। त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ। के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell