PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मधेशी जनतालाई नागरिकता विहीन बनाउन ओली र एमालेले संसद अवरुद्ध पारेको प्रचण्डको आरोप



पहिलोपोस्ट

मधेशी जनतालाई नागरिकता विहीन बनाउन ओली र एमालेले संसद अवरुद्ध पारेको प्रचण्डको आरोप
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' केपी ओली मधेश विरोधी रहेको र मधेशीलाई नागरिकता विहिन बनाउन चाहिरहेको आरोप लगाएका छन्। 

सिराहको मिर्चैया नगरपालिकामा रामप्रसाद साहको सम्मानमा निर्मित शहीद द्वार उद्घाटन र नगर अस्पताल शिलान्यास गर्दै उनले यस्तो आरोप लगाएका हुन्। मधेशका लागि माओवादीले लडेको भन्दै उनले संविधान संशोधनको प्रस्ताव गरे पनि ओली र एमालेले रोकेको आरोप समेत लगाए।

'संविधानमा मधेशीको अधिकार पूरा नभएको भन्दै दुई पटक संसद सचिवालयमा संशोधन दर्ता गराएको थिएँ। एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताकै कारणले नै मधेशी जनताको अधिकार संविधानमा राख्‍न नसकिएको हो,' उनले भने। 

मधेशी जनताको मुख्य माग नागरिकता सम्बन्धी विधेयक ल्याउन एमालेले अवरोध गरेको दाबी गरे। उनले अध्यादेश मार्फत् नागरिकता सम्बन्धी समस्याको समाधान गर्न अदालतले रोकेको भन्दै सदनबाट कानुन ल्याउन एमालेले रोकेको दाबी गरे। 

'सदनबाट नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन चाहन्थ्यौँ। तर, तपाईँलाई थाहा छ कसले संसद रोकेको छ,' उनले अगाडि भने, 'मधेशी जनतालाई नागरिकता विहीन बनाउन एमाले र केपी ओली गुटले संसद रोकिराखेको छ। अब संसद चल्नासाथ एमालेले अवरोध गरे पनि विधेयक पास गराउँछौँ।'

ओली राजावादीहरुसँग साँठगाँठ गरेर संविधान उल्ट्याउने प्रयास गरिरहेको समेत प्रचण्डले आरोप लगाए। माओवादीले मधेशी जनताको मुक्तिका लागि पहिलो पटक मधेशी मुक्ति मोर्चा गठन गरेको स्मरण गर्दै मधेशलाई आफूले रोजेको दाबी गरे। 

'७० सालको निर्वाचन सम्झेको छु। यसै क्षेत्रबाट दोस्रो संविधानसभाको सदस्यमा निर्वाचित भएको थिएँ। मैले सिराहा जिल्लाको जनप्रतिनिधिको हैसियतले दोस्रो पटक संविधान कार्यान्वयनको नेतृत्व लिने प्रधानमन्त्री बनेको थिएँ। राजनीतिक जीवनसँग घनिष्ट रुपमा जोडिएको ठाउँ हो,' उनले भने, 'प्रचण्ड भनेको पहाडीया मात्र होइन। बाहुनमात्र होइन। नेपालीको छोरा हो। म मधेशलाई माया गर्छु। त्यही भएर म मधेशमा आएर चुनाव लडेको थिएँ। काठमाडौंबाट हारेँ। तपाईँले जिताउनु भयो। तपाईँले नजिताएको भए म दोस्रो पटक प्रधानमन्त्री भएर संविधान कार्यान्वयनमा योगदान पुर्‍याउन पाउने थिइन्। त्यसैले म तपाईँहरु सबैलाई अभिनन्दन गर्न चाहन्छु।'  

अफ्ठेरो बेलामा माओवादीलाई मधेशी जनताले साथ दिएको भन्दै मधेशी जनताको साथमा सँधै माओवादी हुने प्रतिवद्धता जनाए। 

देशमा वैधानिक ढंगले सरकारले जनयुद्ध मधेश आन्दोलन जनआन्दोलनलाई सम्मान गर्ने प्रक्रियाको थालनी भएको छ।

'यो वर्ष पहिलो पटक मधेश सरकारले जनयुद्ध दिवस मनाउने र शहीदहरुलाई सम्मान गर्ने जनयुद्ध दिवसमा बिदा दिने र शहीद परिवारलाई सरकारले तीन लाख दिने औपचारिक निर्णय गरेको छ,' उनले भने, 'पोहोर साल बारबर्दिया नगरपालिकाले जनयुद्धले औपचारिक ढंगले मनाएको थियो। अब सबै सरकारले जनयुद्धसहित सबै प्रकारका आन्दोलनलाई सम्मान गर्ने, शहीदहरुका परिवारलाई सम्मान, रोजगार दिने काम गर्नेछ। त्यसका लागि प्रतिवद्धता व्यक्त गर्दछु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell