काठमाडौं : चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगे। तीन दिने भारत भ्रमणका क्रममा उनले विपक्षी दलका कुनै नेतालाई भेटेनन्। त्यसैले पनि देउवाको भाजपा मुख्यालय भ्रमणलाई निकै महत्त्वका साथ हेरियो। भारतीय मिडियाले पनि देउवाको भाजपा मुख्यालयको भ्रमणलाई महत्त्व दियो।
देउवा भाजपाको कार्यालय जाँदा नेपालमा भने त्यसको आलोचना चर्कै रुपमा भयो। प्रधानमन्त्रीको ‘प्रोटोकल’ तोडेर उनी राजनीतिक दलको मुख्यालय गएको भन्दै प्रश्न तेर्सियो। जवाफमा पराष्ट्र मन्त्रालयले देउवा प्रधानमन्त्रीका रुपमा नभइ नेपाली कांग्रेसका सभापतिका रुपमा मुख्यालय गएको बतायो।
पछिल्लो समय छिमेकी राष्ट्रसँग सम्बन्ध चिसिएको भारत सम्बन्ध सुधारमा केन्द्रित हुँदैछ। त्यसैले पनि उसले सीमा विवादसँगै चिसिएको नेपालसँगको सम्बन्ध देउवाको भ्रमणबाट सुधार गर्ने प्रयत्न गरेको देखिन्छ। भारतीय कांग्रेस आइलाई ‘बाइपास’ गरेर भाजपालाई महत्त्व दिनुलाई भारतीय राजनीतिकवृत्तमा चासोका साथ हेरिएको छ।
देउवाको भाजपा मुख्यालय भ्रमणको चर्चा सेलाउन नपाउँदै भारतमा रहेका १३ देशका राजदूतहरु बुधवार भाजपा मुख्यालय पुगे। ४२ औं स्थापना दिवसको अवसरमा १३ देशका राजदूतहरु नयाँ दिल्लीको पण्डित दिनदयाल उपाध्याय मार्गस्थित भाजपा मुख्यालय पुगेका हुन्।
त्यसक्रममा भाजपाले राजदूतहरुलई भारतको इतिहास र संस्कृतिबारे ‘ब्रिफिङ’ गरेको थियो। यस्तै, पार्टीले सन् १९५१ देखि गरेको कामबारे तयार पारिएको डकुमेन्ट्री समेत राजदूतहरुलाई देखाइएको थियो। भाजपा मुख्यालयमा पुग्ने राजदूतहरुमा इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, हंगेरी, पोल्याण्ड, नर्वे, रोमानिया, पोर्चुगल, स्लोभाकिया, बंगलादेश, सिंगापुर, भियतनाम र युरोपियन युनियनका राजदूत र डेलिगेशन नै भाजापा मुख्यालय पुगेका थिए। राजदूतहरुले करिब ३ घण्टा मुख्यालयमा बिताएका थिए भने करिब ९० मिनेट भाजपाका नेताहरु बिच छलफल गरेका थिए। राजदूतहरुले मोदी सरकारले गरेका कामहरुको तारिफ गरेको दाबी भाजपाले गरेको छ।
यसरी एकसाथ राजदूतहरु कुनै पनि पार्टीको कार्यालय पहिलो पटक पुगेको बताइन्छ। दिनदयाल मार्गमा रहेको भाजपा मुख्यालय पुग्ने देउवा पहिलो विदेशी कार्यकारी प्रमुख हुन्।
कार्यक्रमपछि भारतका लागि भियतनामका राजदूत फाम शान चाउले आफूलाई भाजपाले दिएको ‘ब्रिफिङ’ निकै राम्रो लागेको प्रतिक्रिया दिएका थिए। उनले ‘सिस्टम’ बारे बुझ्ने राम्रो अवसर पाएको समेत बताए।
हिन्दुवादी छवि बनाएको भाजपाले देउवासँगै राजदूतहरुलाई मुख्यालयमा बोलाउनु नै रणनीतिक चालको रुपमा हेरिएको छ। कोरोना भाइरस महामारी, बढ्दो महँगी, आर्थिक अस्थिरता, पंजाबमा पराजय, कश्मिर मुद्दाले घेरिएको नरेन्द्र मोदी सरकार अहिले क्षेत्रीय समर्थन जुटाउने प्रयासमा छ। यस्तै, युक्रेन रसिया युद्धमा रसियाको साथ दिएको भारत आफ्नो पक्षमा माहोल बनाउने तयारी गरिरहेको छ।
बुधवार पनि राजदूतहरुलाई भारतले युक्रेनबाट उद्धार कार्य कसरी गर्यो भन्ने 'ब्रिफ' गरेका थिए। त्यसक्रममा भाजपाले पोल्याण्ड, स्लोभाकिया र रोमानियाका राजदूतहरुलाई युक्रेनमा रहेका भारतीयको उद्धारमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए।
