PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

चौतारामा ६७ फिट अग्लो बुद्धपार्कसहितको भ्युटावर उद्घाटन, आयआर्जनको बाटो खुल्ने स्थानीयको विश्वास



पहिलोपोस्ट

चौतारामा ६७ फिट अग्लो बुद्धपार्कसहितको भ्युटावर उद्घाटन, आयआर्जनको बाटो खुल्ने स्थानीयको विश्वास

  • फूलमान तामाङ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको चौतारामा निर्मित बुद्धपार्कको सभामुख अग्नि सापकोटाले उद्घाटन गरेका छन्। आज सदरमुकाम चौतारा बजारबाट हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कसहितको भ्यूटावरको उद्घाटन गरिएको हो। लामागुरुहरुको पूजापाठसँगै सापकोटाले बुद्धको प्रतिमा अनावरण गर्दै उद्घाटन गरेका हुन्।

चौतारा साँगाचोकगढी नगरपालिकाको महत्वकांक्षी योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण भएको हो। नगरपालिकाको वडा नं ६ पिपलडाँडामा अवस्थित ६८ फिट अग्लो यो भ्युटावर सहितको पार्कले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने लक्ष्य नगरपालिकाले राखेको छ।

गौंराती सामुदायिक वन क्षेत्रमा यो पार्क निर्माण भएको हो। नगरपालिकाले अरनिको राजमार्गको सुकुटेमा आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले जानकारी दिए।

‘चौतारा अहिले पर्यटकीय गन्तव्यको रुपमा पर्ने गरेको छ। सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एकदिन एक रात अलमलाउने योजना छ’ उनले भने, ‘सांगाचोकको गढी, इर्खुको रानीपोखरी, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने नगरपालिकाको योजना रहेको छ।’

गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपायअनुरुप यो योजना अगाडि सारिएको तामाङले बताए।  बुद्धपार्कबाट रमणीय चौतारा बजार, जुगल हिमाल, काभ्रेको धुलिखेललगायतका स्थान देख्न सकिन्छ।

‘पर्यटन प्रवर्द्धनबाट स्थानीयलाई आर्थिक उपार्जनका लागि पनि यसले भूमिका निर्वाह गर्ने विश्वास छ’ प्रमुख तामाङले भने, ‘यहाँ आउने पर्यटकले स्थानीय उत्पादनको स्वाद पाउनेछन्। त्यसले गाउँवासीलाई रोजगारीसमेत दिनेछ।’

२०५२ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले उद्घाटन गरेको प्रसिद्ध गौराती भीमसेन मन्दिर पनि बुद्ध पार्क नजिकै छ। पार्क निर्माणसँगै उक्त मन्दिरमा पनि पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ।

पार्क निर्माण सम्पन्न भएपछि यहाँका स्थानीयले आयआर्जनको बाटोसमेत खुल्ने अपेक्षा राखेका छन्। गाउँमा पर्यटक बढ्ने र गाउँमा उत्पादन भएका सामग्रीहरु बिक्री भई गाउँमै व्यवसाय संचालन गर्न सकिने स्थानीय दिनेश तामाङले बताए। गौरातीको भीमसेन मन्दिर नजिकै रिसोर्ट संचालन गर्दै आएका तामाङले जापानमा ५ वर्ष बसेर घर फर्किएर आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन्।

‘स्वदेश फर्किएर आफ्नै लागतमा व्यवसाय सुरु गरें’ उनी भन्छन्, ‘घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना तथा खाजाको प्रबन्ध मिलाउँदै व्यस्त हुन्छु।’ बुद्धपार्क निर्माणले पर्यटक बढ्ने भएपछि तामाङ थप उत्साहित छन्।

सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ। बुद्ध पार्क निर्माणस्थलबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell