PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

निर्वाचन आयोग पुगेर दल दर्ताको समय मागे प्रकाण्डले, केन्द्रीय कमिटीको निर्णय विपरीत चुनावमा जाने प्रतिक्रिया



पहिलोपोस्ट

निर्वाचन आयोग पुगेर दल दर्ताको समय मागे प्रकाण्डले, केन्द्रीय कमिटीको निर्णय विपरीत चुनावमा जाने प्रतिक्रिया

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा निर्वाचनलाई लिएर विवाद चर्किँदै जाँदा पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पार्टी चुनावमा जाने बताएका छन्। निर्वाचन आयोगमा बिहीवार पुगेका प्रकाण्डले पार्टी चुनावमा जाने प्रतिक्रिया दिएका हुन्।

पार्टीको १० दिन सम्म कपिलवस्तुमा चलेको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्वाचनमा नजाने निर्णय गरेको थियो। सो निर्णयविपरित नेता प्रकाण्ड निर्वाचनमा सहभागी हुने प्रक्रियाका बारेमा जानकारी लिन आयोग पुगेका हुन्।

उता, अर्कोतिर चितवनमा बिहीवार नै महासचिव विप्लवले निर्वाचनमा पार्टी सहभागी नहुने भन्दै एमसीसी विरोधी उम्मेद्वारलाई मत दिन आह्वान गरेका थिए।

केन्द्रीय कमिटीको बैठकमा विप्लवले चुनाव उपयोग गर्ने नीतिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उनको लाइनमा प्रकाण्डले साथ दिए पनि केन्द्रीय कमिटी बैठकमा अल्पमतमा परेपछि संशोधन भएको थियो।

बिहीवार निर्वाचन आयोग पुगेका प्रकाण्डले मतदाता नामावाली, दल दर्ताका विषयमा चासो व्यक्त गरेको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए। विशेषगरी उनले मतदाता नामावली र दल दर्ताको समय थप्न आग्रह गरेका थिए।

निर्वाचन आयोगबाट बाहिरिने क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्वाचन आयोगसँग परामर्श गर्न आएका हौँ, अहिलेको सोसल पोलिटिक्सको बारेमा। त्यसपछि निर्वाचनको बारेमा।’ 

उनले निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय भएको भन्ने जिज्ञासा राख्दा छोटो प्रतिक्रिया दिँदै भने, ‘होइन हामी चुनावमा जान्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell