दक्षिण भारतीय फिल्म ‘केजीएफ- च्याप्टर २’ अप्रिल १४ देखि प्रदर्शन हुँदैछ। यश अभिनित यो फिल्म सफल फिल्म ‘केजीएफ’को सिक्वेल हो। जसकारण दर्शकहरू फिल्म रिलिजको तीव्र प्रतिक्षामा छन्।
भारतमा मात्रै नभई नेपाली दर्शकहरू फिल्मलाई लिएर निकै उत्साहित छन्। बैशाख १ गते नेपाली फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। तर, नेपाली फिल्मभन्दा ‘केजीएफ’कै बढी चर्चा छ।
विश्वभरि लोभलाग्दो क्रेज रहेको यस फिल्मको कथाको वास्तविकता निकै चाखलाग्दो छ। यो फिल्म वास्तविक घटनाहरूबाट प्रेरित छ।
केजीएफको इतिहास
केजीएफ अर्थात कोलार गोल्ड फिल्ड। कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ। जुन ठाउँ बेलायतको पालामा सुन उत्पादनका लागि चर्चित थियो। कोलार विश्वको दोस्रो गहिरो खानी हो।
बेङ्ग्लोर-चेन्नई एक्सप्रेस वेमा बेङ्ग्लोरको १०० किमी पूर्वमा केजीएफ टाउनसिप छ। समाचार वेबसाइट ‘द क्विन्ट’ले आफ्नो एक रिपोर्टमा केजीएफको इतिहासको बारेमा लेखेको छ।
रिपोर्टअनुसार सन् १८७१ मा न्युजिल्याण्डबाट भारत आएका बेलायती सैनिक माइकल फिट्जगेराल्ड लेवेलीले बेङ्ग्लोरमा आफ्नो घर बनाए। त्यतिबेला उनी धेरै समय पढ्नमै बिताउन्थे।
सन् १८०४ मा उनले एकदिन एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको लेख देखे। जहाँ कोलारमा फेला परेको सुनको बारेमा लेखिएको थियो।
यो लेख पढेसँगै उनको कोलारप्रति चासो बढ्न थाल्यो। यस विषयमा पढ्दै जाँदा लेवेलीले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे।
लेवेलीबाट प्राप्त जानकारी अनुसार सन् १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेपछि अंग्रेजहरूले कोलार र वरपरको क्षेत्र कब्जा गरिएका थिए। केही समयपछि अंग्रेजहरूले यो भूमि मैसूर राज्यलाई दिए। तर, सर्वेक्षणका लागि भन्दै कोलारको भूमि भने अंग्रेजहरूले आफूसँगै राखे।
सुनको खोजी
चोल साम्राज्यमा मानिस हातले जमिन खनेर सुन निकाल्थे। त्यसपछि सुनको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा भयो। सो घोषणाको केही दिनपछि केही गाउँले गोरुगाडीमा चढेर वारेनसम्म आइपुगे। जहाँ उनीहरूले सुनका निशानहरू फेला पारे।
निशान भेटिएसँगै अनुसन्धान सुरु गरियो। अध्ययनबाट कोलारका जनताहरू हातले सुनको उत्खनन् गर्छन् भन्ने कुरा थाहा भयो। जहाँ ५६ किलो माटोबाट सुन निकाल्न सकिने वारेनलाई थाहा भयो।
वारेनको रिर्पोटपछि सन् १८०४ देखि १८६० सम्म यस क्षेत्रमा धेरै अनुसन्धान र सर्वेक्षण भएपनि अंग्रेजी सरकारले केही पाएन। यस अनुसन्धानका कारण लाभ मिल्नुको साटो धेरैले ज्यान गुमाउनुपर्यो। त्यसपछि, त्यहाँ उत्खननमा प्रतिबन्ध लगाइयो।
सन् १८७१ मा वारेनको रिपोर्ट पढेपछि लेवेलीको मनमा कोलारप्रति रुचि लाग्यो। लेवेलीले बैंग्लोरदेखि कोलारसम्मको १०० किलोमिटरको दूरी गोरुगाडामा तय गरे।
त्यहाँ दुई वर्षसम्म अनुसन्धान गरे। सन् १८७३ मा लेवेलीले मैसुरका महाराजासँग उक्त ठाउँमा उत्खनन् गर्न अनुमति मागे।
लेवेलीले कोलार क्षेत्रमा २० वर्षसम्म उत्खनन् गर्न अनुमति पाएका थिए। सन् १८७५ मा उक्त ठाउँमा काम सुरु गरे।
सुरुका केही वर्ष लेभेलीको धेरैजसो समय पैसा जुटाउन र मानिसहरूलाई काम लगाउन तयार पार्नेमा बित्यो। धेरै मुस्किलपछि अन्तत: केजीएफबाट सुन निकाल्ने काम सुरु भयो।
केजीएफ : बिजुली भएको भारतको पहिलो शहर
केजीएफ खानीमा पहिले प्रकाशको लागि टर्च र लालटिन प्रयोग गरिएको थियो। तर, त्यतिले त्यहाँ प्रकाश पुग्न गाह्रो भयो।
त्यसपछि प्रकाशको लागि बिजुली प्रयोग गर्ने निर्णय गरियो। यसरी नै केजीएफ बिजुली प्रयोग गर्ने भारतको पहिलो शहर बन्यो।
खानीभन्दा १३० किलोमिटर टाढा । कोलार गोल्ड फिल्डको बिजुलीको आवश्यकता पूरा गर्न कावेरी पावर स्टेशन बनाइएको थियो। यो एसियाको दोस्रो ठूलो बिजुली प्लान्ट हो। जुन वर्तमान कर्नाटकको मण्ड्या जिल्लाको शिवाना समुद्रमा बनाइएको थियो।
केजीएफ भारतको पहिलो शहर थियो जहाँ बिजुलीको पूर्ण पँहुच थियो। पानीबाट बिजुली आएसँगै त्यहाँ सधैं बिजुली हुन थाल्यो। बिजुली आएपछि केजीएफमा सुनको उत्खनन् बढेको मानिन्छ।
फलस्वरूप सन् १९०२ सम्म केजीएफमा भारतको ९५ प्रतिशत सुन निकाल्न थालियो। सन् १९०५ मा भारत सुनखानीको हिसाबले विश्वको छैटौं स्थानमा पुगेको थियो।
केजीएफमा सुन उत्खनन हुन थालेपछि त्यहाँको रुप फेरियो। त्यहाँको वातावरण चिसो थियो। जुन वातावरण ब्रिटिसहरूलाई औधी मन पर्न थाल्यो।
ब्रिटिस सरकारी अफिसर र इन्जिनियरहरूको थलो बन्यो 'केजीएफ'। त्यहाँ बेलायती शैलीमा घरहरू ठडिए। घरहरू हेर्दा इङ्ल्याण्डको जस्तै देखिन्थ्यो। डेक्कन हेराल्डका अनुसार त्यसबेलादेखिनै केजीएफलाई 'लिटिल इङ्ल्याण्ड' भन्न थालियो।
पानीको आवश्यकता पूरा गर्न ब्रिटिश सरकारले नजिकै पोखरी निर्माण गर्यो। त्यहाँबाट केजीएफसम्म पानीको पाइपलाइनको व्यवस्था गरिएको थियो। पछि त्यही पोखरी आकर्षणको केन्द्र बन्यो।
बेलायती अधिकारी र स्थानीय नागरिक त्यहाँ पर्यटनका लागि जान थाले। सुनखानीका कारण छिमेकी प्रदेशबाट त्यहाँ मजदुरको संख्या बढ्न थाल्यो। सन् १९३० पछि यो ठाउँमा ३० हजार मजदुर काम गर्थे।
अनि केजीएफलाई राष्ट्रियकरण गरियो
सन् १९४७ मा भारत स्वतन्त्र भयो। त्यसपछि भारतले केजीएफलाई आफ्नो कब्जामा लियो। करिब एक दशकपछि अर्थात् सन् १९५६ मा केजीएफलाई राष्ट्रियकरण गरियो।
सन् १९७० मा भारत सरकारको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ काम सुरु गर्यो। सुरुवातमा सफलता मिलेपनि कम्पनी घाटामा जान थाल्यो।
सन् १९७९ पछि निकै दयनीय अवस्था आयो। कम्पनीसँग आफ्ना मजदुरलाई दिन पैसा समेत रहेन। पछि सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले सधैँका लागि उत्खनन् रोकिदियो।
केजीएफमा उत्खनन् कार्य १२१ वर्षभन्दा बढी चलेको इतिहास छ। एक रिपोर्टका अनुसार १२१ वर्षमा केजीएफबाट ९ सय टनभन्दा बढी सुन निकालिएको थियो।
१५ वर्षसम्म केजीएफमा सबै कामहरू ठप्प भए। तर, सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यहाँ उत्खनन् सुरु गर्ने संकेत दिएको थियो।
केजीएफको खानीमा अझै पनि सुन छ भन्ने विश्वास छ। मोदी सरकारले केजीएफलाई फेरि ब्युँताउनको लागि लिलामी प्रक्रिया सुरु गर्ने घोषणा गर्यो। तर, अहिलेसम्म अगाडि के भयो भन्ने स्पष्ट भने जानकारी छैन।
