'डन भनेकोले यसरी हिँड्छ चुनाव लड्दै? संसारमा कुनै डन देखिएको छ चुनाव लडेको?'
२०७४ को निर्वाचनमा उम्मेदवारी दिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेलाई - तपाईँ डन भएर चुनाव लड्ने? भन्ने प्रश्न सोध्दा उनले दिएको जवाफ यही हो। गुण्डागर्दीको पृष्ठभूमिबारे बुझेका धेरैले विश्वास गरेका थिएनन् दीपक मनाङेले चुनाव जित्छन्।
वरिपरि मस्त ज्यान बनाएका युवाबाट घेरिएर निर्वाचनको लागि भोट माग्दै मनाङका गाउँगाउँ पुगेका थिए दीपक मनाङे। नचिनेका र गाउँमा नदेखिएका मानिसले सहजै अन्य उम्मेदवारलाई झैँ भेट्न पाउँदैन थिए दीपकलाई। उनको सुरक्षामा 'केटा'हरु खटिएका हुन्थे। प्रदेश नम्बर ४ को प्रदेश सभाका सदस्यका रुपमा मनाङको प्रदेश (क) बाट डन शैलीमा उनले जित निकाले। उनको जितका लागि नेकपा एमालेले आफ्नो पार्टीको उम्मेदवारलाई नोमिनेसन फिर्ता गराएको थियो।
गुन्डागर्दीको छवी बोकेका मनाङेका लागि प्रदेश सांसदको ढोका खुल्यो। तर, अदालतमा मुद्दा रहेकाले उनको शपथ ग्रहण भएन। प्रहरीले समात्ला भनेर भागेर नै हिँडे उनी। पछि तिनै दीपक मनाङेका दिन फेरिए। प्रहरीबाट भागीभागी हिँड्ने दीपक तिनै प्रहरीबाट सलामी खाने व्यक्ति बने। अहिले उनी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन्।
मनाङेको पदीय जिम्मेवारी फेरियो। तर, फेरिएन उनको नानीदेखिको बानी। अहिले पनि उनको शैली त्यस्तै देखिन्छ जस्तो ठमेलका गल्लीमा मान्छे थर्काउँदै र कुट्दा देखिन्थ्यो। त्यसैले पनि होला उनी बेलाबेला चर्चामा आइरहन्छन् उनी। एक पटक फेरि उनी पुरानै पहिचानका कारण चर्चामा छन्।
गत मङ्गलवार आफ्नै मन्त्रालयका एक कर्मचारीलाई उनले कुटे। त्यही विषयलाई लिएर उनी चर्चामा आएका छन्। मन्त्रालयको स्रोतका अनुसार मन्त्री मनाङेले मङ्गलवार मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेका हुन्। ओझाले मन्त्रीको कार्यकक्षमा फाइल लिएर जाँदा मन्त्रीले उनीमाथि हातपात गरेको मन्त्रालय स्रोतले जनाएको छ। यता ओझाको भने मोबाइल स्वीच अफ छ। उनी आज बिदामा छन्।
मन्त्री मनाङेलाई कर्मचारी कुटेकोमा पनि पछुतो छैन। बरु मन्त्रालयमा गलत काम गरेकाले हप्काएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। मन्त्री मनाङेको कुरा मात्र सुन्ने हो भने भ्रष्टाचार गर्न लागेका कर्मचारीलाई सबक सिकाएका हुन् उनले। यता कुटाइ खाने कर्मचारीले कुनै प्रतिक्रिया दिएका छैनन्। प्रहरीमा उजुरी पनि परेको छैन। ठ्याक्कै दक्षिण भारतीय एक्सन फिल्मको लिड रोलमा रहने पात्र झै लाग्छन् मनाङे। तर, के कर्मचारीमाथि हातपातमा उत्रिन पाउनु 'हिरोगिरी' हो त्यो पनि भ्रष्टाचारको आक्षेप लगाउँदै। यदि मनाङेले दावी गरेको जस्तो कर्मचारीले घुस नै खाएको भए कारवाहीको तरबार त मनाङेकै हातमा छ। गुण्डा शैलीमा किन उत्रिए उनी?
त्यसो त उनको यो पहिलो हर्क होइन। यसअघि यस्तै हर्कतले उनलाई केही दिन हिरासत सम्म पुर्यायो। २०७६ माघमा अखिल नेपाल फुटबल सङ्घ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि उनी हातपात गरेका थिए। त्यही आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। खेलाडी व्यवस्थापन नगरेको भन्दै मनाङेले मुख्यमन्त्री कपको उद्घाटन समारोहमा गुरुङमाथि हातपात गरेका थिए। त्यसपछि गुरुङले मनाङे विरुद्ध प्रहरीमा उजुरी दिए। तर, मिलन स्वयं पनि पक्राउ परे। यस घटनामा पनि मनाङेले कहिल्यै पछुतो मानेनन्। खेलाडीको पक्षमा आफू भएको भन्दै उनी साउथ इन्डियन फिल्मको पात्रकै शैलीमा डटिरहे।
मनाडेको पृष्ठभूमि नै गुन्डागर्दी हो। २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङे सहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। बागबजारको उक्त घटनामा सम्मिलित गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार थिए। गणेश लामा हाल कांग्रेसमा आबद्ध छन्। काठमाडौं जिल्ला अदालतले २०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाएका थिए।
जिल्लाको फैसलामा चित्त नबुझाउँदै सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गरेको थियो। पुनरावेदन अदालत पाटनबाट एकराज आचार्य सहितको इजलासले २०६९ सालमा जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो।
कसैले गल्ती गरे त्यसको सजायले कानुनले तोक्छ। तर कानुन नै नभएको जस्तो हिरोगिरी शैलीमा हातपाइमा उत्रिने छुट कसैलाई छैन। तर, सत्ता राजनीतिमा कहिले एमालेको प्यारो त कहिले कांग्रेसको निकट बनिरहेका मनाङेलाई ती सबै छुट छ। त्यसैले साउथ इन्डियन एक्सन फिल्मका दृश्यलाई दोहोर्याइरहन्छन् उनी बेलाबेलामा।