काठमाडौं : नाटक 'तीन ट्रान्जिट' आजबाट मञ्चन हुन भएको छ। यो नाटक थापागाउँस्थित मण्डला थिएटरमा साँझ ५ बजेदेखि मञ्चन हुन लागेको हो।
यूएनडीपीको सहकार्यमा बनेको नाटकमा आगामी राजनीतिक नेतृत्वमा युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने विचारलाई समेटिएको निर्माण टिमले बताएको छ। मण्डला समूहकै संयुक्त प्रयासमा तयार पारिएको नाटकमा रंगकर्मी सोमनाथ खनालको निर्देशन रहेको छ।
'तीन ट्रान्जिट'मा तीन किसिमका युवाहरुको कथा भन्ने प्रयास गरेको निर्देशक खनालले जानकारी दिए। जसभित्र राजनीति बुझ्न नसकेर दुरुपयोग गरिएका, राजनीति बुझ्नै नचाहेर भ्रममा पारिएका र यी सबै असरलाई बुझ्दै रचनात्मक उपस्थितिसहित राजनीति सुधार्ने लक्ष्य राखेका नेपाली युवाहरु यस नाटकभित्र पर्छन्।
नाटकमा बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ। नाटक बैशाख ४ गतेसम्म (सोमबार बाहेक) मञ्चन हुनेछ।