PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

नेपाललाई श्रीलंकाजस्तो हुन्छ भनेर अतिरञ्जित गरियो : मन्त्री भुसाल



पहिलोपोस्ट

नेपाललाई श्रीलंकाजस्तो हुन्छ भनेर अतिरञ्जित गरियो : मन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति खराब भए पनि आर्थिक संकटको सम्भावना नरहेको बताएकी छिन्। नेपालको अवस्था श्रीलंकाको अवस्था जस्तो हुने भनेर अतिरञ्जित गरिएको उनको दाबी छ।

शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति छ। कतै संकट हो कि, कतै श्रीलंका हुने हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छन्। चर्चा भएजस्तो संकट छैन।’

भुसालले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

‘राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नारा भन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ,’ भुसालले भनिन्, ‘त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशैभित्रको चिजको खोजी गर्ने, उत्पादनमा सहभागी हुने, कृषि उत्पादनमा हामी नमुना बनौँ। त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रीत गर्ने गरेर लागौँ।’

उनले उत्पादन बढाउन आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बढाउनुपर्नेमा जोड समेत दिइन्। राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेती योग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउनु योजना बनाउनुपर्ने बताएकी हुन्। सिंचाइ पुर्‍याउन सकेमात्र खाद्यान्न उत्पादनमा वृद्धि भएर नेपाल आत्मनिर्भर हुन सकिने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell