
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन्। शुक्रवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन्।
उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौं विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोक्नुपर्ने उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गरी नेपाललाई नै विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउन सकिने समेत बताइन्।
‘हाम्रो देशबाट प्रत्येक वर्ष हजारौँको संख्यामा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई स्वदेशमै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारेमा पनि हामी संवेदनशील हुनुपर्छ,’ उनले भनिन्, ‘हामीले उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गर्नसके गुणस्तरीय शिक्षा प्राप्त गर्ने एक गन्तव्यको रुपमा हाम्रो मुलुक पनि पर्न सक्छ। त्यसका प्रशस्तै सम्भावनाहरु पनि छन्।’